मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन सुरू

नेपालखोज २०८२ वैशाख २२ गते १२:५९

मुस्ताङ । मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा सङ्कलन फुकुवा गरेका हुन् ।

यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेका संरक्षण व्यवस्थान समिति (सिएमसी)ले यार्सा सङ्कलन अनुमति प्रदानका लागि एक्याप कार्यालयमा निवेदन पेस गरेका थिए । सोही पत्रका आधारमा एक्यापले संरक्षण नियमावलीमा अधीनमा रहेर तोकिएको सर्त पालना गर्नेगरी निवदेन पेस गरेका संरक्षण व्यवस्थापन समितिहरूलाई यार्सागुम्बा सङ्कलन अनुमति प्रदान गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए ।

हालसम्म मुस्ताङका तीनवटा संरक्षण व्यवस्थापन समितिले एक्याप कार्यालयबाट यार्सा सङ्कलन अनुमतिपत्र लिइसकेको र अरू समिति पनि क्रमशः अनुमतिका लागि आउने क्रममा रहेको बताए । मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका उच्चलेक तथा पाटनमा बहुमूल्य जटीबुटी यार्सागुम्बा पाइने गर्छ । मुस्ताङको थासाङस्थित कोवाङ र टुकुचेको उच्चलेक तथा पाटनमा वैशाखको पहिलो सातादेखि यार्सा सङ्कलन सुरू भएको संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले जानकारी दिए ।

थासाङको कोवाङलेमा यार्सा सङ्कलनका लागि स्थानीयलाई तीन हजार र जिल्लाबाहिरका नागरिकहरूलाई रू छ हजार शुल्क तोकिएको संरक्षण व्यवस्थापन समिति अध्यक्ष जीवन थकालीले बताए । अहिलेसम्म स्थानीय २२ जना र जिल्लाबाहिरका १०० गरी कुल १२२ जनाले यार्सा सङ्कलन अनुमतिपत्र लिइसकेको उनले जानकारी दिए । कोवाङ समितिअन्तर्गत मूली खर्क, मार्चेलेकलगायत आधा दर्जन पाटनमा यार्सा सङ्कलन गर्ने सुविधा रहेको अध्यक्ष थकालीको भनाइ छ ।

यसैगरी, थासाङको टुकुचेमा पनि धमाधम यार्सा सङ्कलन पुँजी वितरण भइरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेका सचिव दीपसागर थकालीले उल्लेख गरे । टुकुचे समितिबाट ३ वैशाखदेखि यार्सा पुर्जी वितरण भइरहेकामा अहिलेसम्म ५५ जनाभन्दा बढी यार्सा सङ्कलन गर्न लेकतर्फ प्रस्थान गरिसकेको सचिव थकालीले जानकारी दिए ।

थासाङको कोवाङ समितिले स्थानीयलाई एक हजार र अन्य व्यक्तिलाई तीन हजार शुल्क उठाउने गरेको सचिव थकालीले बताए । थासाङको टुकुचे समितिबाट पुर्जी लिएकाले मार्चेलेक, बतासेलेक चिउदोखर्क र धम्पुसलेकमा यार्सा सङ्कलन गर्न पाउने सचिव थकालीको भनाइ छ ।

प्रतिक्रिया