किराना सामानमा लुकाएर लैजाँदै गरेको अबैध कपडा पाल्पाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालखोज २०८२ वैशाख २२ गते १४:२७

काठमाडौं । किराना सामानभित्र लुकाई छिपाई लैजाँदै गरेको १८ पोका लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरीले पाल्पाबाट नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको भैरहवाबाट म्याग्दितर्फ जाँदै गरेको लु. १ ख ५४५३ नम्बरको ट्रक पाल्पा जिल्लाको तानसेन नगरपालिका–१ राईडाडा स्थित सिद्धार्थ राजमार्गबाट बैशाख २१ गते राती साढे १ बजे नियन्त्रणमा लिईएको हो । ट्रक नियन्त्रणमा लिने क्रममा चालक फरार भएका छ्न् भने ट्रकका सहचालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने २० वर्षिय मिखिल पुनलाई नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पाबाट खटिएको सुरक्षा फौजले बिलबिजक नभएको अबैध कपडा सहितको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा किराना तथा खाद्यान्नका सामान भित्र १८ पोका लत्ताकपडा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको छ । ट्रकमा रहेको किराना तथा खाद्यान्न सामानको विलविजक भेटिएको छ भने लत्ताकपडाकोे विलविजक नभएको पाइएको छ ।

रुपन्देहको सिद्धार्थनगर–४ गल्लामण्डी भैरहवाको प्रतिक किराना स्टोरबाट सम्झाना ट्रेडर्स म्याग्दी बेनी को नाममा बनाइएको बिलबिजक सहितको किराना सामानमा लुकाएर कपडा लैजान लगिएको थियो । नियन्त्रणमा लिएको ट्रक र सहचालक सहित आवश्यक कारबाहिको लागि लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा बुझाईएको छ ।

प्रतिक्रिया