गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ । पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो, स्थानीय नन्दकुमार पुनले भने, अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ ।
कालोपत्र नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो । सुकाएका कपडामा पनि धुलैधुलो हुने अवस्था थियो । अहिले त्यो अवस्था हटेको स्थानीय देवी थापाले बताए । सुकाएका कपडामा पनि धुलैधुलो हुन्थ्यो, घरै फोहर हुन्थ्यो, अब त सजिलो भयो, उनले भने । सोही ठाउँको आठ सय मिटर सडक कालोपत्र भएको हो ।
त्यसैगरी, तुलसीपुर–१२ कै हरिपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो । त्यतिमात्र होइन, वर्षात्मा घरहरू नै डुबानमा पर्ने अवस्था हुन्थ्यो । तर, अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको स्थानीय डिला केसीले बताए । दवर्षात्मा घरहरू पनि डुब्ने अवस्था हुन्थ्यो, कम्मरसम्म हिलो हुन्थ्यो, उनले भने, तर अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको छ । जहाँ साढे तीन सय मिटर सडक कालोपत्र भएको हो ।
यी दुवै सडकका लागि ८६ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए । उनका अनुसार वडाले आवश्यकताका आधारमा नगरस्तरीय बजेटलाई व्यवस्थापन गरेको भन्दै उनले यो ठाउँमा कालोपत्र गरिएको बताए । सबै क्षेत्रलाई सन्तुलन मिलाउने गरी हामीले अहिले गाउँगाउँका सडक स्तरवृद्धि तथा कालोपत्र गर्ने काम गरिरहेका छौँ, उनले भने, यसले निकै सहज बनाएको छ । यस वर्षमात्र वडामा दर्जन बढी सडक स्तरवृद्धि गरिएको बताए । आवश्यकतानुसार नयाँ ट्रयाक खोल्ने, नाली निर्माण गर्ने, कल्भर्ट हाल्ने, ग्राभेल गर्ने कार्यसमेत गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया