अचेतन अवस्थामा अल्पसमय राजा भएका दिपेन्द्र

नेपालखोज २०८२ जेठ २३ गते ८:५२

यो तस्विर युवराज दिपेन्द्रको सम्भवत अन्तिम जीवित तस्विर हो । दरवार भित्र २०५८ जेठ १९ गते शुक्रबारको जमघट शुरु हुनु भन्दा केही घण्टा अगाडि दरवार तर्फ जाँदै गर्दा खिचिएको तस्बिर हो यो । जमघटको केही घण्टामा नै अविश्वसनीय दरवार हत्याकाण्ड भएको थियो । जसमा राजा, रानी सहित दस जना राजपरिवार सदस्यहरुको मृत्यु भयो ।

यस तस्विरमा युवराज दिपेन्द्रको अनुहारमा आन्तरिक तनाव देखिन्छ । साथै केही दिन देखि राम्रोसँग निदाउन नसकेको आभास हुन्छ । यो तस्विर मलाई युवराज दिपेन्द्रको नीजि गुरु (Private Tutor) ले देखाएका थिए । वहाँले तस्विरका साथ युवराजका आनिबानी र ब्यक्तित्वका बारेमा पनि धेरै कुरा सुनाएका थिए । साथै हत्याकाण्डको एक हप्ता अगाडि दरवारमा भएको कुराकानी बारेमा पनि भने ।

हत्याकाण्डको एक हप्ता अगाडि युवराजले वहाँलाई र एक पूर्व प्रधान सेनापतिलाई एकसाथ दरवारमा भेट्न बोलाएका रहेछ । प्राय दरवार पुग्दा तत्कालै भेट दिने युवराजले त्यस दिन निकैबेर पर्खाउनु भएछ । सधै हाँसो ठट्टा गर्दै कुरा गर्ने युवराज त्यस दिन कोठामा कम प्रकाशमा अध्यारो गरेर बनेको रहेछ । शान्त तथा हाँसो ठट्टा विहिन युवराजले दुबैलाई एकसाथ भनेछ, तपाईंहरुले मलाई पढाउन आउनु पर्यो । अस्वभाविक प्रश्नको जवाफमा, सरकारले हुकुम भएको दिनमा हामी हाजिर हुनेछौ भन्नु भएछ ।

यो प्रसंग वहाँले सुनाउनु भए पछि मैले तत्कालीन समयका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको कथन सम्झे । युवराजले गिरिजालाई पनि हत्याकाण्डको एक हप्ता अगाडि, You have to support me, भनेको कुरा बाहिरिएको थियो । त्यो सुनेर अकमक्क भएका गिरिजालाई युवराज दिपेन्द्रले कु गर्दैछु, प्रधानमन्त्री तिमी नै बन्नुपर्छ, भने पछि गिरिजाले दिपेन्द्र, नशामा बोल्दै हुन् भन्ने सोच्दै हुन्छ सरकार भनेर पन्छिएका थिए । तर अब यो दोश्रो प्रसंगले युवराज दिपेन्द्र लामो समय देखि राजा बन्ने दिवा स्वप्नमा लागेको स्पष्ट भएको बुझ्न सकिन्छ ।

सानै देखि दिपेन्द्रका गुरु हुनु भएका वहाँ पनि दिपेन्द्रको आनिबानिबाट परिचित हुनुहुन्थ्यो तर कहिल्यै वहाँलाई लागेन कि यसरी बाबु, आमा, भाइ, बहिनी तथा काका, काकीको पनि हत्या गर्न सक्नेछ भन्ने । दिपेन्द्रको सबैभन्दा प्यारो काका धिरेन्द्र थिए । धिरेन्द्रलाई अधिराजकुमारबाट हटाइँदा सबैभन्दा बढी दुखित दिपेन्द्र थिए, र यो निर्णय गरेकोमा युवराज आमासंग क्रुद्ध भएका थिए । पछिल्लो पटक देवयानीसंग विवाह गर्न नदिँदा भने आमा तथा फूपु जयन्तीसंग धेरै रिसाएका थिए दिपेन्द्र । रानी ऐश्वर्यले देवयानीसंग विवाह गर्न मञ्जुरी नदिनुको कारण चन्द्र शमशेर र जुद्ध शमशेर बिचको पुस्तैनी दुश्मनी थियो । अन्य कारण थिएन ।

अकल्पनिय राजदरवार हत्याकाण्डका प्रमुख हत्यारा दिपेन्द्र थिए भन्नेमा धेरैले विश्वास नै गर्न सक्दैनन् र गरेका पनि छैनन् । कतिपयले दिपेन्द्रको मुखौटा लगाएर अन्य शार्प शुटरले हत्या गरेको आशंका पनि गर्ने गर्दछन् । तर यस किसिमको दृश्य चलचित्रमा देखिए झै वास्तविकतामा सम्भव छैन ।

दोश्रो शंका दरवार भित्र रहेका सैनिकहरुले नै गरेको र गुपचुम राखिएको तथा यसको प्रमुख योजनाकार तत्कालिन प्रधानसेनापति रहेको पनि आशंका गर्दछन् । यसमा पनि सत्यता देखिदैन । तर बिदेशी षडयन्त्र बारेमा जानकारी भएर पनि बेवास्ता गरि एक प्रकारले सहयोग गरे जस्तो देखिएको भने आशंका गर्न सकिन्छ ।

तर मृत्यु पूर्व वा राजदरवार हत्याकाण्ड घटना हुनु पूर्वको अन्तिम सप्ताह दिपेन्द्रको सबैभन्दा निकट रहेका तत्कालिन समयका सैन्य अधिकृत (जो पछि प्रधान सेनापति पनि बने) र वहाँका नीजि शिक्षकको भनाइमा भने अन्य समय भन्दा भिन्न थिए ।

प्रतिक्रिया