नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्न शिक्षा आवश्यक छ : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक रहेको बताएका छन् ।
नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गरे । उनले विद्यालय तहदेखिनै बालबालिकालाई आधुनिक समयको माग अनुसारको पाठयक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान व्यक्तिका रुपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिनु जरुरी रहेको बताए ।

प्रतिक्रिया