‘दीपेन्द्र : अचेतन अवस्थामा नेपालको राजा’

काठमाडाैं । यो तस्बिर युवराज दीपेन्द्रको सम्भवत अन्तिम जीवित तस्बिर हो । दरबार भित्र २०५८ जेठ १९ गते शुक्रबारको जमघट सुरु हुनु भन्दा केही घण्टा अगाडि दरबार तर्फ जाँदै गर्दा खिचिएको तस्बिर हो यो । जमघटको केही घण्टामा नै अविश्वसनीय दरबार हत्याकाण्ड भएको थियो । जसमा राजा, रानी सहित दस जना राजपरिवार सदस्यहरूको मृत्यु भयो ।
यस तस्बिर मा युवराज दीपेन्द्रको अनुहारमा आन्तरिक तनाव देखिन्छ । साथै केही दिन देखि राम्रोसँग निदाउन नसकेको आभास हुन्छ । यो तस्बिर मलाई युवराज दीपेन्द्रको निजी गुरु (Private Tutor) ले देखाउनु भएको थियो । वहाँले तस्बिरका साथ युवराजका आनीबानी र व्यक्तित्वका बारेमा पनि धेरै कुरा सुनाउनु भएको थियो । साथै हत्याकाण्डको एक हप्ता अगाडि दरबारमा भएको कुराकानी बारेमा पनि भन्नुभयो ।
हत्याकाण्डको एक हप्ता अगाडि युवराजले वहाँलाई र एक पूर्व प्रधान सेनापतिलाई एकसाथ दरबारमा भेट्न बोलाउनु भएको रहेछ । प्राय दरबार पुग्दा तत्कालै भेट दिने युवराजले त्यस दिन निकै बेर पर्खाउनु भएछ । सधैँ हाँसो ठट्टा गर्दै कुरा गर्ने युवराज त्यस दिन कोठामा कम प्रकाशमा अँध्यारो गरेर बस्नुभएको रहेछ । शान्त तथा हाँसो ठट्टा विहीन युवराजले दुबैलाई एकसाथ भन्नुभएछ, तपाईँहरूले मलाई पढाउन आउनु पर्यो । अस्वाभाविक प्रश्नको जवाफमा, ‘सरकारले हुकुम भएको दिनमा हामी हाजिर हुनेछौ’ भन्नु भएछ ।
यो प्रसङ्ग वहाँले सुनाउनु भए पछि मैले तत्कालीन समयका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको कथन सम्झे । युवराजले गिरिजालाई पनि हत्याकाण्डको एक हप्ता अगाडि, You have to support me, भनेको कुरा बाहिरिएको थियो । त्यो सुनेर अकमक्क भएका गिरिजालाई युवराज दीपेन्द्रले कु गर्दै छु, प्रधानमन्त्री तिमी नै बन्नुपर्छ, भने पछि गिरिजाले दीपेन्द्र, नशामा बोल्दै हुनुहुन्छ भन्ने सोच्दै हुन्छ सरकार भनेर पन्छिएका थिए । तर अब यो दोस्रो प्रसङ्गले युवराज दीपेन्द्र लामो समय देखि राजा बन्ने दिवा स्वप्नमा लागेको स्पष्ट भएको बुझ्न सकिन्छ ।
सानै देखि दीपेन्द्रका गुरु हुनु भएका वहाँ पनि दीपेन्द्रको आनीबानीबाट परिचित हुनुहुन्थ्यो तर कहिल्यै वहाँलाई लागेन कि यसरी बाबु, आमा, भाइ, बहिनी तथा काका, काकीको पनि हत्या गर्न सक्नेछ भन्ने । दीपेन्द्रको सबैभन्दा प्यारो काका नरेन्द्र थिए । धिरेन्द्रलाई अधिराजकुमारबाट हटाइँदा सबैभन्दा बढी दुखित दीपेन्द्र थिए, र यो निर्णय गरेकोमा युवराज आमासँग क्रुद्ध भएका थिए । पछिल्लो पटक देवयानीसँग विवाह गर्न नदिँदा भने आमा तथा फुपू जयन्तीसँग धेरै रिसाएका थिए दीपेन्द्र । रानी ऐश्वर्यले देवयानीसँग विवाह गर्न मन्जुरी नदिनुको कारण चन्द्र शमशेर र जुद्ध शमशेर बिचको पुस्तैनी दुस्मनी थियो । अन्य कारण थिएन ।
अकल्पनीय राजदरबार हत्याकाण्डका प्रमुख हत्यारा दीपेन्द्र थिए भन्नेमा धेरैले विश्वास नै गर्न सक्दैनन् र गरेका पनि छैनन् । कतिपयले दीपेन्द्रको मुखौटा लगाएर अन्य शार्प शुटरले हत्या गरेको आशङ्का पनि गर्ने गर्दछन् । तर यस किसिमको दृश्य चलचित्रमा देखिए झैँ वास्तविकतामा सम्भव छैन । दोस्रो शङ्का दरबार भित्र रहेका सैनिकहरूले नै गरेको र गुपचुप राखिएको तथा यसको प्रमुख योजनाकार तत्कालीन प्रधानसेनापति रहेको पनि आशङ्का गर्दछन् । यसमा पनि सत्यता देखिँदैन । तर विदेशी षडयन्त्र बारेमा जानकारी भएर पनि बेवास्ता गरी एक प्रकारले सहयोग गरे जस्तो देखिएको भने आशङ्का गर्न सकिन्छ ।
तर मृत्यु पूर्व वा राजदरबार हत्याकाण्ड घटना हुनु पूर्वको अन्तिम सप्ताह दीपेन्द्रको सबैभन्दा निकट रहेका तत्कालीन समयका सैन्य अधिकृत ९जो पछि प्रधान सेनापति पनि बने० र वहाँका निजी शिक्षकको भनाइमा भने अन्य समय भन्दा भिन्न थिए ।

प्रतिक्रिया