अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै

नेपालखोज २०८२ जेठ २३ गते १७:१८

घोडाघोडी (कैलाली) । यहाँको भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनर्स्थापनाको काम सुरु भएको छ । गत वर्ष सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबीच समन्वयमा अतिक्रमण हटाइएपछि ताल पुनर्स्थापनाको काम अगाडि बढेको हो ।

यहाँ ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल (ड्याम) निर्माण गरिएको थियो, तर स्थानीयले पुनः अतिक्रमण गरी खेतीपाती गरेका थिए । हाल तालको सुरक्षणका लागि ठूलो पर्खाल निर्माणको काम भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार तालको वरिपरि दुई मिटर उचाइ र दुई मिटर चौडाइको गाडी गुड्ने गरी डिल निर्माणको कार्यसमेत सुरु गरिएको छ ।

मोहना नदीमा विसं २०६४ मा आएको बाढीले ५६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई बगरमा परिणत गर्न सुरु गरेको थियो । त्यसपछि २०६८, २०७२ र २०७५ सालमा आएको बाढीले ताललाई पुरेर बगरमा बनायो । त्यसपछि स्थानीयले त्यसमा खेती लगाउन सुरु गरेका हुन् । ताल बालुवाले पुरिँदै गएपछि स्थानीयले दिनप्रतिदिन जग्गा बढाउँदै गएकाले ताल पूरै खेतमा परिणत भएको कँडेलले बताए ।

प्रतिक्रिया