वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–६ घर भएका ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–३ घर भएका २९ वर्षीय उत्तम खड्का रहेका छन् ।
पक्राउ मध्ये लामाले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जना पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रूपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई काठमाडौं महानगरपालिका–१० बाट शुक्रबार र खड्कालाई कागेश्वरी मनोहरा नगरपालिका–८ बाट आइतबार पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षीय दुर्गा नारायण बुढा र ४९ वर्षीय पर्स बहादुर बुढा रहेका छन् ।
जिल्ला अदालत म्याग्दीको २०५९ फागुन २५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका पर्स बहादुर र सोही अदालतको २०६६ असोज २६ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका दुर्गा नारायणलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका–१ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–८ अर्याल बस्ती बस्ने तेह्रथुम फेदाप गाँपालिका–१ लामथुम्बा घर भएका ४१ वर्षीय सुकबिर लुङवा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत ३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–८ अर्याल बस्तीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका–३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दिपेश राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमरा प्रहरी चौकी च्याङग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १७ पक्राउ
पोखरा महानगरपालिका–१० रक्षा मार्ग बस्ने ३९ वर्षीय दिपेन पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २२ हजार ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका–१५ घलेचोक डेरा गरी बस्ने पर्वत घर भएका ४२ वर्षीय हिमाल गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको रकम सहित पक्राउ
विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट स्रोत नखुलेको भारतीय २ लाख ३२ हजार ५ सय रूपैयाँ सहित भारत बिहार जोगवनी–४ बस्ने २६ वर्षीय मोहमद हविबलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्वागत टोलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ६७ वर्षीय दिलमान साम्बाको मृत्यु भएको छ । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
यसैगरी मोरङको विराटनगर महागनरपालिका–३ स्थित सडकमा ढाँटबाट कन्चनबारीतर्फ आउँदै गरेको को.३७ प २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सप्तरी घर भएका २४ वर्षीय अरबिन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ स्मृतीपार्कस्थित सडकमा ना.६ ख २२५१ नम्बरको ट्रकमा प्र.२–०२–००१ ह ०२८३ नम्बरको अटो ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा अटोमा सवार भारत मोतियारी जानपुर–४ घर भएका ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटो चालक र अटोमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित सडकमा पहरूवाबाट बिजौरीतर्फ आउँदै गरेको रा.२ प ७१०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१५ पहरूवा बस्ने ५० वर्षीय शिव राज सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया