प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

नेपालखोज २०८२ असार २३ गते १८:५६

काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जंग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष कार्कीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सपथग्रहण लगत्तै सोमबार बसेको बैंकक सञ्चालक समितिको तीन सय ८१ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रभु बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति रहेको थियो । विसं २०८१ पुस २९ गते सम्पन्न बैंकको २३ औं वार्षिक साधारण सभामा सर्वसाधारण समूहका सेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका किशोरजंग कार्की गत असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको तीन सय ८० औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्ष यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रुपमा सेवा गरिसकेका छन् ।

त्यसैगरी निजामति किताबखाना, आन्तरिक रजश्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाली सकेका अध्यक्ष किशोर जंग कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर समेत विविध कार्यानुभव हासिल गरेका छन् ।

३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका अध्यक्ष कार्कीको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक लिमिटेड, सेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया