नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालखोज २०८२ असार २३ गते १९:२९

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक रूपमा सुन्दर, भौगोलिक रूपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय पर्यटन तथा नागरिक उडड्यन विभागद्वारा आज यहाँ आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा उनले नेपाल पर्यटन बोर्ड, पर्यटन विभागजस्ता संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक (डिजिटल) शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचार हुनुपर्नेमा जोड दिए ।

‘हामीले विश्वलाई भन्न सक्नुपर्छ, बेस्सरी पैसा कमाएर मात्रै हुँदैन, वास्तविक जिन्दगी जिउनुपर्छ । साँच्चैको हिमाल कस्तो हुुन्छ हेर्नुपर्छ । त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ‘हामीले विश्वलाई भन्न सक्नुपर्छ, हात्ति चढेर गैँडा हेर्दा वास्तविक आनन्द थाहा हुन्छ, त्यसकारण नेपाल भ्रमण गरौँ ।’

उनले पर्यटन पूर्वाधार विकासका लागि सरकारले प्राथमिकता दिएको जनाउँदै पर्यटनमैत्री वातावरण बनाउन सरोकार भएका पक्षले ध्यान दिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले धर्ममा विश्वास गर्ने नगर्नु मानिसको स्वतन्त्र अधिकार भए पनि भगवान राम नेपालमा जन्मिएको र सीताको मरण यही भूमिमा भएकाजस्ता ग्रन्थमा उल्लेखित कुरालाई डिजिटल सामग्री बनाएर विश्वमाझ प्रचारप्रसार गर्न डर मान्नुुनपर्ने स्पष्ट गरे ।

ज्ञान, उर्बर भूमि, विद्वान पूर्खा र पौरखी जनता भएको नेपाल विकसित नहुनुपर्ने कारण आफूले बुझ्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले विश्वमा काम गर्ने जाति भनेर चिनिएको देशका नागरिकले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरखमा विश्वास गरी काममा लाग्नुपर्ने धारणा बताए । -रासस

प्रतिक्रिया