अपाङ्गता भएका बालबालिकाका लागि समावेशी विद्यालय

नेपालखोज २०८२ असार २३ गते २१:१८

दमौली । यहाँको आबुखैरेनी गाउँपालिकास्थित मित्रता समावेशी विद्यालय सञ्चालनमा आएको छ । अपाङ्गता बालबालिकाको शिक्षाका लागि सो विद्यालय सञ्चालनमा ल्याइएको हो ।

‘शिक्षा सबैका लागि’ भन्ने मूलमन्त्र आत्मसात् गर्दै अपाङ्गता भएका बालबालिका लक्षित विद्यालय आइतबारदेखि सञ्चालनमा ल्याइएको हो । विद्यालयले फरक क्षमता भएका बालबालिकालाई एउटै कक्षा कोठामा समावेशी सिकाइ विधिमार्फत शिक्षा दिन सुरु गरेको विद्यालयका अध्यक्ष केपी अधिकारीले जानकारी दिए ।

विद्यालयमा हाल २५ जना अपाङ्गता भएका विद्यार्थी भर्ना भएका छन् । यसै महिना विद्यार्थी सङ्ख्या ४० पुग्ने अनुमान छ । हालको भौतिक संरचनाका कारण सम्पर्कमा आएका सबैलाई भर्ना गर्न नसकिएको भए पनि नयाँ भवन निर्माणसँगै थप बालबालिकालाई समेट्ने तयारी भइरहेको उनले बताए ।

विद्यालयले शिक्षा मात्र नभई थेरापी सेवा, मनोपरामर्श सेवा तथा आधारभूत स्वास्थ्य उपचार सेवा समेत प्रदान गर्ने उहाँको भनाइ छ । विद्यालयले विशेषगरी न्यून आय भएका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले समावेशी विद्यालयलाई थप व्यवस्थित बनाइने उल्लेख गरे । अपाङ्गता भएका बालबालिकालाई अभिभावकसँगै विद्यालयको आवासमा राखी निश्चित समयका लागि अभिभावकलाई जीविकोपार्जन तथा अपाङ्गतामा आधारित सामुदायिक पुनः स्थापनामा जोड दिइने उनको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिकाका शिक्षा शाखा अधिकृत निर्मला कुँवरले समावेशी विद्यालय आँबुखैरेनीको मात्र नभई देशकै अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी स्थापना गरिएको जानकारी दिए । -रासस

प्रतिक्रिया