उत्तराखण्ड पहिरोमा परी बर्दिया मधुवनका पाँच नेपाली मजदुरको अवस्था अझै अज्ञात्र

दोधारा चाँदनी (कञ्चनपुर) । भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लास्थित धरालीमा गएको भीषण बाढीमा परेर पाँच जना नेपाली मजदुर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बर्दियाको मधुवन नगरपालिका–५ का नरेन्द्र खड्का उनका श्रीमती सन्ध्या खड्का, १८ महिनाका छोरा रोमन र सोही ठाउँका अमृता परियार र सुवास विक बेपत्ता भएको घटनास्थलमा रहेका बर्दिया मधुवन नगरपालिका–५ का चित्र पौडेलले जानकारी दिए ।
सडक निमार्णमा मजदुरी गरेर उहाँहरू टेन्टमा त्यहाँ बस्दै आएका थिए, पौडेलले भने, बुधबार बिहान करिब ९ः०० बजेतिर आएको बाढीले बगाएपछि पाँच जना बेपत्ता भएका हुन् । पौडेल पनि सोही स्थानमा सडक निर्माणमा काम गर्ने मजदुर हुन् । उक्त स्थानमा नेपालका विभिन्न जिल्लाका ४० जना मजदुर ठेकेदारको निर्माण कम्पनीमा सडक निर्माणको काम गर्दै आएका थिए । बुधबार बिहान बेपत्ता भएका उनहरूको अवस्था अज्ञात छ ।
बर्दियाको मधुवन नगरपालिका–५ का वडाध्यक्ष दिलीप गुरुङले पहिरोमा परेर पाँच जना बेपत्ता, पाँच जना घाइते भएको खबर प्राप्त गरेको जानकारी दिए । मजदुरीका लागि भारत गएका पाँच जना बेपत्ता भएका छन्, उनले भने, घाइते पाँच जनामध्ये तीन जना उपचारपछि काममा फर्किसकेका छन्, दुई जनाको उपचार भइरहेको छ ।
पहिरोमा परी बेपत्ता भएकाहरूको अहिले खोजीकार्य भइरहेको छ । त्यहाँ रहेका अन्य नेपाली मजदुरले १०–१५ किलोमटरसम्म खोजी गरे पनि फेला नपरेको पौडेलले जानकारी दिए ।
भारतस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति जारी गर्दै बेपत्ता नेपालीहरूको अवस्था अझै अज्ञात रहेको जनाएको छ । दूतावासका अनुसार उत्तराखण्ड प्रहरीले राजदूतावासलाई गराएको जानकारीअनुसार तीन सय ७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुई जनाको शव निकालिएको छ । उक्त सूचीमा नेपाली नरहेको दूतावासले जनाएको छ ।
उत्तराखण्ड प्रदेश पौडी गौडाल जिल्लाको बागोडामा गएको बाढीपहिरोपश्चात पाँच जना नेपाली हराइरहेका छन् भारतस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चार जना घाइतेमध्ये तीन जना घर फर्केको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको दूतावासले उल्लेख गरेपनि वडा अध्यक्ष गुरुङले भने पाँच जना घाइते भएको बताएका छन् । उक्त बाढीपहिरोमा परी हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेको उपचारलगायत अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

प्रतिक्रिया