पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु

किएभ । युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा मङ्गलबार भएको रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत बताएका छन् । मस्कोले अझै पूर्ण नियन्त्रण नलिए पनि औद्योगिक क्षेत्रलाई रुसको हिस्सा दाबी गरेको छ ।
किएभका अनुसार, क्रेमलिनले नयाँ आक्रमणका लागि फ्रन्टलाइनमा करिब एक लाख सेना परिचालन गरिसकेको छ । डोनेट्स्कको यारोभा गाउँमा पेन्सन वितरण भइरहेको बेला रूसी युद्धविमानबाट प्रत्यक्ष नागरिकमाथि आक्रमण भयो । प्रारम्भिक विवरणअनुसार २० जनाभन्दा बढीको मृत्यु भएको छ, जेलेन्स्कीले आफ्नो पोस्टमा भने । डोनेट्स्कका गभर्नरले २१ जनाको मृत्यु र सोही सङ्ख्यामा घाइते भएको जानकारी दिए ।
जेलेन्स्कीले घटनास्थलबाट लिइएका भिडियोसमेत सार्वजनिक गरे जसमा खेलमैदान नजिकै जलेको मिनी–भ्यान, छरिएका लाश, व्यक्तिगत सामान, कागज र जुत्ताहरू देखिन्थे । एएफपीले युक्रेनी अधिकारीहरूले पोस्ट गरेका ती तस्बिरहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन ।
युद्धपूर्व करिब एक हजार नौ सय जनसङ्ख्या रहेको यारोभा अग्रपङ्क्तिबाट करिब आठ किलोमिटर (पाँच माइल) टाढा पर्छ । जेलेन्स्कीले अन्तर्राष्ट्रिय समर्थनको आह्वान गर्दै भने, संयुक्त राज्य अमेरिकाबाट प्रतिक्रिया आवश्यक छ । युरोपबाट प्रतिक्रिया आवश्यक छ । जी–२० बाट प्रतिक्रिया आवश्यक छ । रुसले मृत्यु ल्याउने काम रोक्न कठोर कदम चालिनुपर्छ ।

प्रतिक्रिया