पाकिस्तानमा बाढी : मध्य पञ्जाबबाट १ लाख २० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

नेपालखोज २०८२ भदौ २४ गते १८:२८

काठमाडौं । सेनाद्वारा समर्थित उद्धारकर्ताहरूले मध्य पाकिस्तानी सहरबाट रातारात करिब एक लाख मानिसलाई बाहिर निकालेका छन् । बाढीको पानीले घर डुबाएर खेतीयोग्य जमिन बगाएपछि धेरैलाई पाल र खुला क्षेत्रमा भीषण गर्मी सहन बाध्य भएको बताइएको छ ।

पञ्जाब विपद् व्यवस्थापन समितिका महानिर्देशक इरफान अली काठियाका अनुसार विगत २४ घण्टामा जलालपुर पिरवालाबाट मात्रै एक लाख २२ हजारभन्दा बढी विस्थापित भएका छन् । केही आफन्तसँग आश्रय लिएका छन् भने अरू राहत शिविरमा बसिरहेका छन् ।

तर बाढीग्रस्त जिल्लाहरूका अधिकांश पीडितले सहयोग ढिलो वा न्यून मात्रामा आएको गुनासो गरेका छन् । सरकारले भने उद्धार र राहत कार्य सँगसँगै चलिरहेको र दैनिक आवश्यक सामग्री पठाइनेमा जोड दिएको छ ।

हप्तौँदेखि जारी भारी वर्षा, आरी घोप्टे वर्षा र भारतको बाँधबाट छोडिएको पानीका कारण गत महिनादेखि पञ्जाबमा मात्रै २२ लाख मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन् । बाढीका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको छ ।

मुल्तान अझै बाढीको जोखिममा रहेको र नदीको सतह बढिरहेको काठियाले बताए । सहरहरूलाई सुरक्षित राख्न ग्रामीण क्षेत्रमा नियन्त्रित रूपमा तटबन्ध फुटाइने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया