दर्शकले रुचाउन थाले नेपाली चलचित्र

काठमाडौं । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।
नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ को तथ्याङ्क सार्वजनिक गरिएको छ, जहाँ नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ ।
गएको शनिबार अर्थात् कात्तिक २२ गतेसम्मको सार्वजनिक तथ्याङ्कअनुसार सगरमाथाको विषयमा निर्माण गरिएको चलचित्र ‘जेरी अन टप’ ले सबैभन्दा बढी कमाई गरेको छ । उक्त चलचित्रलाई तीन लाख ७५ हजार ८१ दर्शकले हेर्दा रु ११ करोड ७१ लाख ४१ हजार ४९८ कमाई (ग्रस कलेक्सन) गरेको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको विषयमा विदेशमा धेरै चलचित्र बने तापनि नेपालमा कमै बनेका छन् । उक्त चलचित्रमा सगरमाथा आरोहण र त्यस क्रमको प्रेमकथालाई देखाइएको छ । नेपालमा सुन्दर दृश्यलाई कैद गरिएको उक्त चलचित्रले पर्यटनमा समेत टेवा पुर्याउने विश्वास निर्माता सरोज न्यौपानेको छ ।
हामीले सगरमाथाको कथा र सुन्दरतालाई चलचित्रमा प्रस्तुत गरेका छौँ, हाम्रो प्रयासलाई दर्शकले साथ दिएपछि अन्य चलचित्रकर्मीलाई पनि हौसला प्राप्त भएको छ, नयाँ विषय र गुणस्तरीय चलचित्र बन्यो भने दर्शकले रुचाउनु हुन्छ भन्ने पुनः प्रमाणित भएको छ, नेपालको सुन्दरता चलचित्रको माध्यमले प्रचारप्रसार गर्नु हामी चलचित्रकर्मीको पनि दायित्व हो, निर्माता न्यौपानेले भने ।
उक्त चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । गत असोज ३१ गतेदेखि प्रदर्शनरत उत्क चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् ।
यस्तै भाइटीकाका अवसर पारेर गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ ले सोही अवधि (शनिबार बेलुकी) सम्म दुई करोड ५६ लाख ५७ हजार ९२९ कमाएको छ । उक्त चलचित्रलाई ८५ हजार ३५६ दर्शकले हेरेका छन् । दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल लगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।
यस्तै कात्तिक ६ मै प्रदर्शन भएको चलचित्र ‘सोल्टिनी’ले भने अपेक्षाभन्दा निकै कमजोर कमाई गरेको छ । उक्त चलचित्रलाई आठ हजार ९४५ दर्शकले हेर्दा २९ लाख पाँच हजार ९५६ मात्र कमाई गरेको छ ।
प्रकाश सपूत, परीक्षा लिम्बू लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । निर्देशक सुवेदीले यसअघि निर्देशन गरेको ‘रङ्गेली’ पनि घरेलु बजारमा असफल भएको थियो ।
‘तक्मे बुढा’ को उपनामले परिचित अभिनेता विल्सनविक्रम राईले निर्देशन गरेका ‘मैझारो’ ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन । अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल भयो । अभिनेता धिरज मगर, मिरुना मगर, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रले रु एक करोड चार लाख २९ हजार २८८ कमाएको छ । ३५ हजार १७६ दर्शकले मात्र उक्त चलचित्रलाई हेरेका थिए ।

प्रतिक्रिया