एमाले महाधिवेशन: प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

नेपालखोज २०८२ मंसिर २६ गते १९:१७

काठमाडौं । नपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा नमूना मतदान अभ्यास प्रतिनिधिलाई गराइएको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमालेले आज प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाउनका लागि नमूना मतदान अभ्यास गराएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले केन्द्रीय कार्यालयमा आएका प्रतिनिधिलाई नमूना मतदान गराएर विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाइएको जानकारी दिए ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार आज एमाले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान अभ्भ्यास गराइएको जानकारी दिए । एमालेको महाधिवेशनमा दुई हजार ४०० प्रतिनिधि सहभागी हुँदैछन् ।

उनका अनुसार महाधिवेशन स्थल भृकुटीमण्डपमा १० वटा विद्युतीय मेसिन राखेर प्रतिनिधिलाई मतदान गर्न सिकाइने छ । यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।

एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ ।

प्रतिक्रिया