मुस्ताङमा भारतीय नागरिक मृत फेला

नेपालखोज २०८३ वैशाख ८ गते २०:१८

मुस्ताङ । मुस्ताङमा एक भारतीय नागरिकको शव फेला परेको छ । घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा मंगलबार बिहान सवा १० बजे भारतीय नागरिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रतापगढ उत्तर प्रदेश राज्य भारत घर भएका ६३ वर्षीय पुरुष सङ्गमलाल यादवको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।

वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको सीमाना पान्डा खोलानजिकै जोमसोम–कागबेनी सडक छेउको लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव फेला परेको महतको भनाइ छ । घटनास्थलबाट उनको आधार कार्ड फेला परेको छ । मृत फेला परेका यादव चैत १८ गते ट्रेकिङका लागि आएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले मृतकको परिवारसँग सम्पर्कको लागि समन्वय गरिहेको जनाएको छ । प्रहरीका अनुसार उनको शव जोमसोमस्थित प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । रासस

प्रतिक्रिया