कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कार्यान्वयन गर्न नसकिने योजना तथा कार्यक्रम समावेश नगर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा आज आयोजित प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले पूरा गर्न सकिने योजना तथा कार्यक्रमलाई मात्रै प्रस्ताव गर्न निर्देशन दिएका हुन् ।
उनले सुशासन प्रवर्द्धनका लागि बनेको कार्यविधिको अक्षरशः कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गर्दै यसको थालनी मन्त्रालय तहबाटै हुनुपर्ने बताए ।
आफ्ना अधिकार क्षेत्रभित्रका विषयमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्रीले कर्मचारी किताबखाना व्यवस्थापनमा जानुपर्ने र अवकाश कोष स्थापना गर्न आवश्यक रहेको बताए ।
बैठकमा विभिन्न मन्त्रालयका सचिवले योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विषयमा धारणा राख्नुभएको थियो । प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले मुख्यमन्त्री कार्यालयका तर्फबाट प्रदेश सरकारका निर्णय कार्यान्वयन, कानुन तर्जुमा, जनशक्ति व्यवस्थापन, समन्वय तथा सहजीकरणका कार्यलाई व्यवस्थित रूपमा अघिबढाइरहेको जानकारी दिए ।
साथै उनले आगामी बजेटमा कार्यान्वयन गर्न सकिने योजनामात्र समावेश गर्नुपर्नेमा जोड दिए । प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले बहुवर्षीय आयोजना छनोटका मापदण्ड र आयोजना बैंकको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । -रासस

प्रतिक्रिया