प्रहरी महानिरीक्षक कार्कीद्वारा सम्मान

नेपालखोज २०८३ वैशाख २४ गते १८:३१

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नैना एण्ड ईशान ज्वेलर्समा लुटपाट गर्न आएका व्यक्तिहरू विरूद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै ज्वेलर्समा कार्यरत काठमाडौं महानगरपालिका–२२ वटु बस्ने सञ्जिता शाक्यलाई सम्मान गरेका हुन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रम बीच प्रहरी महानिरीक्षक कार्कीले उनलाई कदर पत्र प्रदान गरी सम्मान गरेका हुन् ।

काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो २ जना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने उदेश्यका साथ आतंक सिर्जना गर्दा आफ्नो ज्यानको पर्वाह नगरी प्रदर्शन गरेको हिम्मत, आत्मविश्‍वास तथा निर्वाह गरेका नागरिक दायित्वको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले त्यस्तो विषम् परिस्थितिमा समेत सम्मानित व्यक्ति सञ्जिता शाक्यले देखाएको अदम्य साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गरे । सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने उनले बताए ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मानित व्यक्ति सञ्जिता शाक्यले घटनाको बारेमा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए ।

सञ्जिताले उक्त घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सिसिटिभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारूकताले कुनै पनि अपराधिक घटनाको सफल अनुसन्धानमा प्रहरीका लागि शीघ्र जानकारी र प्रविधिको भूमिका महत्वपूर्ण रहन्छ भनेर आम नागरिकहरूलाई सुसुचित गराउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको छ । साथै उहाँले प्रदर्शन गरेको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुन गई समाजमा सुरक्षा सचेतना तथा अपराध विरूद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्‍वास लिएको छ ।

अवैध लागूऔषधसहित दुईजना पक्राउ

इलामको सूर्योदय नगरपालिका–१ गोर्खेबाट अवैध लागूऔषध गाँजा ५ सय ८ ग्राम सहित सोही नगरपालिका–१ कमरे टोल बस्ने २३ वर्षीय राहुल राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोर्खेबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

रूपन्देहीको सैनामैना नगरपालिका–११ बनकट्टीबाट नियन्त्रित लागूऔषध फेनारगन ९० एम्पुल र डाइजेपाम ९० एम्पुल सहित दाङ घोराही उपमहानगरपालिका–१४ बस्ने २८ वर्षीय रबिन बुढालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले बुटवलदेखि दाङतर्फ जाँदै गरेको लु.१ ज ४९३६ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान कालिमाटी गाउँपालिका–५ हात्तीदमार बस्ने ४४ वर्षीय धिरज भन्ने धन बहादुर कामी, कैलाली लम्कीचुहा गाउँपालिका–२ बलचौर बस्ने २३ वर्षीय अनिल वादी नेपाली र २० वर्षीय सुनिल वादी रहेका छन् ।

उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया