तालतलैयाको बक्यौता नतिर्नेको सेवासुविधा रोकियो

भजनी (कैलाली) । भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको छ । नगरपालिकाको आन्तरिक आयस्रोतका रूपमा रहेको तालतलैया छन् ।
नगरपालिकाको यही वैशाख १५ गते बसेको कार्यपालिका बैठकले बक्यौता नतिर्ने व्यक्ति तथा फार्मको नगरपालिकाबाट हुने सबै खालको सेवा प्रवाह रोकिएको प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बताए ।
उनका अनुसार व्यक्तिका हकमा स्वास्थ्य सेवालाई भने रोकिएको छैन । ठेक्का लिने व्यक्तिले बक्यौता नतिर्दा उसको तीनपुस्ते विवरणअनुसारको सेवासुविधा रोकिएको छ ।
विसं २०७२ देखि नगरपालिकाले तालतलैया माछापालनका लागि ठेक्का दिँदै आएको थियो । ठेक्का लिने व्यक्ति तथा फार्मले समयमा सम्झौताअनुसारको रकम नतिर्दा नगरपालिकाको राजस्व खुम्चिएको छ ।
नगरपालिकाको आन्तरिक आयको प्रमुख स्रोत तालतकैया हुन् । यस नगरपालिकामा दर्जनौँ तालतलैया छन् । जहाँ माछापालनका लागि निकै उपयुक्त मानिन्छन् ।
अहिलेसम्म तालको बक्यौता रु पाँच करोड ६९ लाख ९४ हजार पुगेको छ । २७ फार्म वा व्यक्तिले नगरपालिकालाई तालतलैयाको बक्यौता बुझाउन बाँकी छ ।
सबैभन्दा बढी तालको बक्यौता तिर्न बाँकी कैलाली मत्स्य तथा कृषि कम्पनी प्रालिका प्रेमबहादुर भुलको देखिएको छ । उहाँले एक करोड ९२ लाख चार हजार ३६० रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
दुई करोड २९ लाख ६६ हजार १५९ रुपैयाँमा ठेक्का भएको घोरताल र गिदिनियातालको ३७ लाख ७१ हजार ७९९ रुपैयाँ भुक्तानी भएको नगरपालिकाका राजस्व शाखा प्रमुख चिरञ्जीवी उपाध्यायले जानकारी दिए ।
तालको बक्यौता नतिर्ने जनप्रतिनिधि पनि छन् । वडा नं ४ का वडासदस्य तालबहादुर चौधरीले श्रीमतीका नाममा वडा नं ४ मै रहेको लोटिहुवा सोरहवाताल ठेक्कामा लिएका थिए । दुई कार्यकाल वडासदस्य निर्वाचित भएका तालबहादुरले तालको ठेक्का सम्झौता श्रीमतीका नाममा गराए पनि त्यसको सञ्चालन आफैँले गर्दै आएका थिए ।
रु २७ लाख ४७ हजार २९५ मा ठेक्का सम्झौता भएको उक्त तालको अझै २२ लाख ९७ हजार दुई सय ९५ रुपैयाँ बक्यौता छ भने चार लाख ५० हजारमात्रै भुक्तानी भएको राजस्व शाखा प्रमुख उपाध्यायले बताए । अहिले नगरपालिकाले प्रवाह गर्ने सेवासुविधाबाट वडासदस्य चौधरी पनि वञ्चित भएका छन् ।
नगरपालिका र सामुदायिक वनको विवादले काम गर्न नपाउँदा तालबाट लिनुपर्ने आम्दानी लिन नसकेपछि समयमा बक्यौता तिर्न नसकिएको उनको भनाइ छ । नगरप्रमुख केवल चौधरीले बक्यौताका लागि पटकपटक प्रयास गर्दा पनि सम्भव नभएपछि सुविधा रोक्नुपरेको बताए ।
उनका अनुसार आफ्नो नाममा रहेको बक्यौता तिरेपछि भने उसको सेवासुविधा फुकुवा हुनेछ । ‘कुनै सीप नलागेपछि अन्ततः बक्यौता उठाउनैपर्ने हुँदा सेवासुविधा रोकेका हौँ । उहाँभन्नुहुन्छ, “यति गर्दा पनि भएन भने फेरि यसपछिका प्रक्रिया चरणबद्ध अगाडि बढाइने छन् ।’ -रासस

प्रतिक्रिया