बिहीबार, वैशाख ६, २०८१

सिंहदरबार भित्र नयाँ संसद भवनको शिलान्यास

नेपालखोज २०७६ असोज १ गते १५:१४

१ असोज, काठमाडौँ । सिंहदरबार भित्र निर्माण गरिने संघीय संसद् भवनको शिलान्यास गरिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार भित्रको पुतली बगैंचामा भवनको शिलान्यास गरे ।


शहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार शिलान्यास भएसँगै भवनको निर्माण कार्य तत्काल सुरु गरिने छ । निर्माण थालेको साढे २ वर्ष भित्र भवन निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।

मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ । ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ लागत अनुमान गरिएको यस भवनमा निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेको छ ।

अहिले संसद बैठक बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिदै आएको छ । सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि सम्मेलन केन्द्रबाट संसद बैठक सञ्चालन गरिएका हुन् । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार हाल सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ । प्रतिनिधिसभा ५ वर्ष र राष्ट्रियसभाका लागि लिइएको उक्त भवन गत वर्ष ६ वर्षसम्मका लागि भनेर सम्झौता गरिएको छ । सम्झौतामा दुई — दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख गरिएको छ । यसकारण केन्द्रको भाडा बढ्दै जाँदा सरकारलाई आर्थिक भार पनि बढ्दै जाने छ ।

यस्तो बन्दैछ सिंहदरबार भित्रको आधुनिक संसद भवन

सहरी विकास मन्त्रालयले तयार पारेको संसद भवनको डिजाइनमा संसद सचिवालय र दलको कार्यालय राष्ट्रिय सभा तथा प्रनिनिधिसभा नजिकै राखिने छ । भीभीआईपीका लागि प्रवेशद्वार संसद भवनको क्षेत्रको मध्यभागतिर राखिने छ । कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार भने भीभीआईपीकै प्रवेशद्धारको छेउमा राखिने छ ।

डिजाइन अनुसार मुख्य गेटबाट प्रवेश गर्ने वत्तिकै प्लाजामा पुगिनेछ । त्यसको एकापट्टि प्रतिनिधिसभाको हल र अर्कोपट्टि संसद सचिवालय रहनेछ ।
सचिवालय र प्रतिनिधि सभाको पछिल्लो भागमा एकापट्टि दलको कार्यालय र अर्कोपट्टि राष्ट्रियसभा हुने छ । डिजाइन अनुसार संसद भवनकै क्षेत्रभित्रमा बगंैचा, तथा सानो चौर रहने छ ।

प्रतिक्रिया