बार्सिलोना छोड्ने मेस्सीको निर्णय
एजेन्सी । अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लब समक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने निर्णय गरेको बताएका छन् ।
मेस्सीले आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन् । मेस्सीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा उनले कुनै रकम नतिरी क्लब छाड्न पाउने थिए ।
तर सामान्य अवस्थामा मे महिनामै सकिने सिजन यसपटक कोरोना भाइरस संक्रमणका कारण लम्बिएको थियो । यससँगै मेस्सीले आफ्नो सम्झौता अनुसार सम्झौताको प्रावधान मान्य रहने जानकारी दिँदै क्लबलाई सम्झौता रद्द गर्न आग्रह गरेका छन् । यस विषयमा छलफल गर्न बार्सिलोनाले क्लबको आकस्मिक बैठक डाकेको छ ।
क्लबमा रहेको २ दशकपछि विश्व फुटबललाई नै आश्चर्यचकित बनाउँदै मेस्सीले बार्सिलोना छाड्ने निर्णय लिएका छन् । अब क्लबको बोर्ड बैठकले उनको आग्रहबारे छलफल गर्नेछ ।
प्रतिक्रिया