शुक्रबार, वैशाख ७, २०८१

दशैँकालागि नयाँ नोट साट्न काठमाडौँका यि स्थानमा जानुहोस

नेपालखोज २०७६ असोज ६ गते १५:०९

६ असोज, काठमाडौँ । दशैँ लक्षित गर्दै नेपाल राष्ट्र बैंकले देशभरका विभिन्न स्थानबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । यही असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० रुपैयाँका नोट सटही गर्ने व्यवस्था मिलाईएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

कहाँ कहाँ पाईन्छन् दशैँमा नयाँ नोट ?

राष्ट्र बैंकले उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ भने उपत्यका बाहिर आफ्ना कार्यालयबाट मात्रै नयाँ नोट साट्ने सुविधा दिएको छ ।

नयाँ नोट साट्न काठमाडौँका यि स्थानमा जानुहोस

उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउने छन् ।

कृषि विकास बैंकले काठमाडौं उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट बाँड्दै छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंकले सुचित गरेको छ ।  राष्ट्र बैंकले यसका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँदै छ । राष्ट्र बैंकका अनुसार, आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् ।

उपत्यका बाहिर कहाँ—कहाँ साट्न पाईन्छ नयाँ नोट ?

राष्ट्र बैंकले निकालेको सुचना अनुसार राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट साट्ने सुविधा उपलब्ध गराईएको छ । उपत्यकाभित्र अन्य बैंकमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले उपत्यकाबाहिर भने अन्य बैंकबाट नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छैन ।

यसपालीको दशैँमा सहकारी संस्थाले नयाँ नोट नपाउने

अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले सहकारी संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँथ्यो । कार्यालयको चिठी लगेर सहकारी संस्थाहरुले नयाँ नोट साट्थे र आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँथे । यसपटक भने सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले सिधै नयाँ नोट वितरण गर्ने छैन । राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई नयाँ नोट दिनेछ र सहकारी संस्थाहरुले राष्ट्रिय सहकारी बैंकमा गएर नयाँ नोट लिन पाउने छन् ।

यस वर्ष राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट नपाइने

अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यस पटक भने थापाथली कार्यालयबाट नयाँ नोट साट्ने सुविधा दिएको छैन । राष्ट्र बैंकका प्रवक्ता निरौलाका अनुसार थापाथलीस्थित कार्यालयको भवन पुनर्निर्माणको काम जारी रहेकाले यस वर्ष थापाथलीबाट नयाँ नोट साटिने छैन ।

प्रतिक्रिया