शुक्रबार, वैशाख १४, २०८१

‘अक्सिजन र खाद्यान्न कम हुन दिन्नाैं’

नेपालखोज २०७८ वैशाख २१ गते १२:२७

अहिले देशको धेरै शहरहरुमा निशेधाज्ञा छ । शहरहरुमा भएका उद्योग कलकारखाना उद्योग परिसर भित्र राखेर चलाउन सकिने गरी विकल्प दिएको छ । तर निशेधाज्ञा र बन्दाबन्दीको समय लम्बिए चलिरहेका उद्योग बन्द हुन्छन् । देशभरि रहेका औद्योगिक क्षेत्रको व्यवस्थापन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गर्दै आएको छ । औद्योगिक क्षेत्रभित्र सरकारको प्रतिनिधिको काम यसैले गर्ने गरेको छ । अहिले औद्योगिक क्षेत्र भित्रका उद्योगको अवस्था कस्तो छ, कसरी चलेका छन् भनेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतसँग गरिएकाे कुराकानीः


हामी बन्दाबन्दीमा छौं । कोरोनाको जोखिममा छौं। देशभरिका उद्योगहरु, औद्योगिक क्षेत्रहरु कसरी चलेका छन् ? कस्तो छ अवस्था ?
विभिन्न जिल्लामा कोभिडको स्थिति हेरेर नेपाल सरकारले गरेको निषेधाज्ञाहरु अधिकांश जिल्लाहरुमा तराईका जिल्लाहरुमा पर्यो । ती जिल्लाहरुमा परिसकेपछि यसले प्रत्येक्ष औद्योगिक करिडोरमा र औद्योगिक क्षेत्रहरुमा पार्यो । औद्योगिक करिडोरमा पनि सीमित उद्योगहरु मात्र चलेको हामीसँग अभिलेख छ । विशेषगरी अहिले औद्योगिक क्षेत्रको काम हामीले गरिरहेका छौं । औद्योगिक क्षेत्र भनेको नेपाल सरकारको संस्था भयो । यसको जिम्मेवारी बढी छ ।

किनभने यही मुलुकलाई अप्ठ्यारो परेको बेला, जनतालाई अप्ठ्यारो परेको बेला कसरी व्यापक काम दिन सकिन्छ भन्नेकुरामा हामी लागेकाे छाैं । नेपाल सरकारले खोलेको औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुलाई कसरी सञ्चालन गर्ने र यो उद्योगहरुबाट कसरी अहिलेको कोभिडबाट छुटकारा पाउने भन्नेमा पनि हामी लागेका छाैं । हाल मुलुकलाई परेको अप्ठ्यारो छ त्यसलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर हामी त्यसैमा लागिरहेका छौं । जस्तो अहिले औद्योगिक क्षेत्रभित्र अति आवश्यक प्रोडक्टहरु हामीकहाँ उत्पादन हुन्छन् । तिनीहरुलाई कसरी सञ्चालन गर्ने ? डे टु डे कसरी मार्केटलाई सर्कुलेशनमा लैजाने भन्नेमा हामी छौं ।


हाल कस्ता उद्योग सञ्चालन छन् ? कसरी सञ्चालन गरिरहेका छन् ? र उत्पादित सामग्रीहरु कसरी बजारसम्म पुगेका छन् ?
समग्र औद्योगिक क्षेत्रका हेर्दाखेरी मुलुकभरका दशवटा औद्योगिक क्षेत्रभित्र लगभग साढे सातसय उद्योगहरु स्थापित छन् । साढे सातसय मध्ये आजसम्मका डाटा हेर्दा ६० प्रतिशत उद्योगहरु चलेको देखिन्छ । अति आवश्यक त चल्ने नै भए । अहिले अरु पनि उद्योगहरु हामीले कसरी चलाइरहेका छौं भने उहाँहरुको रअ मेटेरियल आएर बसिरहेको थियो । कच्चा पदार्थ उहाँहरुसँग थियो । गत वर्षको लकडाउनदेखि नै औद्योगिक क्षेत्रभित्रै बसेर, उद्योग प्रतिष्ठानमै काम गर्ने मजदुर बसेर, उद्योग सञ्चालन गर्ने हामीले त्यो बेलामा पनि मिलाएको हाे।

त्यस अनुसार अहिले ज–जसको उद्योगभित्र मजदुरहरु राख्नुभएको छ । उहाँहरुले सञ्चालन गर्नुभएकाे छ । अब आजसम्मको स्थिति हेर्दा ६० प्रतिशतसम्म चलिरहेको छ । सम्भवतः हामीले अनुगमन गर्दा यस्ताे पाएका छाैं । यही स्थिति लामो रह्यो भने घट्दै जान्छ । उहाँहरुलाई सहयोग गरेर अत्यावश्यक वस्तु त हामी चलाउँछौं चलाउँछौं । अरु प्रोडक्ट बिस्तारै बिस्तारै कम हुँदै जन्छ किनभने उनीहरुको मार्केटको सर्कुलेसन चेन बन्द हुन्छ । र आउने रअ मेटेरियल चेन पनि बन्द भयो भने त्यसपछि यो लामो समय गयो भने अति आवश्यकबाहेक अरु इन्डष्ट्रिहरु कम हुँदै जन्छ भन्ने मलाई लाग्छ, यसले उत्पादन घट्छ जस्तो लाग्छ ।


यसमा हामीले जसरी चलाईरहेका छौं । उनीहरुको निरन्तरताका लागि हामीले केही व्यवस्था गरेका छौं कि ? कार्यालयको तर्फबाट सहजीकरणका लागि ?


विगत दुईतिन दिनदेखि हाम्रो पहिलो फोकस भनेको औद्योगिक क्षेत्रभित्र बालाजु, पाटन र पोखरामा तिनवटा औद्योगिक क्षेत्रभित्र हाम्रो अक्सिजन प्लान्टहरु छन् । पोखरामा दुईवटा छ । पाटनमा एउटा छ र बालुजुमा दुईवटा अक्सिजन प्लान्ट छ । यो अक्सिजन प्लान्टलाई कसरी फुलफिल उत्पादन गरेर मार्केटको अभावलाई कसरी पूर्ति गर्ने भन्नेमा हामीले फोकस गरेका छौं ।

दुई दिन पहिले मात्रै हामीले शंकर अक्सिजनलाई इलेक्ट्रिसिटी थपेर त्यसको प्रोडक्शनमा ३०० सिलिन्डर थप प्रोडक्शन गर्न हामी सफल भयौं । त्यसलाई मार्केटमा पठायौं जसले बजारलाई केही राहत भयो । पहिलो प्राइरोटी अहिले हामीले के लाई दिइरहेका छाैं भने दुई तीन महिना कम्प्लिट्ली लकडाउन गर्ने अवस्था आयो भने पनि बजारलाई अहिले मान्छे बचाउन सबभन्दा प्रमुख अक्सिजन छ त्यो कसरी उत्पादन गर्न सकिन्छ त्यसको व्यवस्थापन महत्वपूर्ण छ । त्यो अक्सिजनको व्यवस्थापन गर्न समय समयमा बसेर, हामीले गर्ने भनेको बजारमा गयो भने पासको व्यवस्था गरिदिने र भन्सारमा चाँडो छुटाउन दिने हाे ।

गाडीहरुलाई अवरोध नगर्ने , त्यो हिसाबले सेवा सुविधा दिने यसमा फाेकस छाैं । दोस्रोमा, अन्य खाद्य वस्तुहरु अन्य हाम्रो औद्योगिक क्षेत्रभित्र दूध, एलपीजी ग्यास, बिस्कुट, पानी यिनी हुन् । यो अहिले बजारमा अभाव छैन । यदि लामो समय गयो उपत्यकालाई हामी दूध, पानी, एलपीजी ग्यास र बिस्कुट दुई तीन महिनालाई पनि धान्न सक्नेगरी व्यवस्थापन गर्न जरूरी छ । त्यसरी दुईतिन महिना सप्लाई भएन भनेपनि हामी दिनसक्छौं है भनेर उहाँहरुको व्यवस्थापनसँग बसेर हामीले काम गरिरहेका छौं । नर्मल उद्योगहरु जुन हुनुहुन्छ अन्य प्रोडक्टहरु त बिस्तारै बिस्तारै कम हुदैँ जान्छ । यसमा केही गर्न सकिन्छ कि भनेर साेच्ने मात्र हाे ।


समुदाय वा सरकारले वा उद्योगीहरुले अत्यावश्यक सेवा नरोक्ने, उत्पादन नरोक्ने गर्नको लागि केही गरिदिनुपर्ने छ ? कार्यगत रुपमा, नीतिगत रुपमा ?
हामीले के भनेका थियौं मजदुरहरु भित्रै बस्न पाउनुपर्यो, एउटा त्यो सरकारले व्यवस्था गरिदिएकै छ । ढुवानीका साधनहरु निर्वाध रुपमा सप्लाइ हुन पाउनुपर्छ उद्योगीहरुको माग थियो त्यो पुरा गरिदिएकै छ सरकारले । त्यस्तै गरेर अर्को पनि हामीले के मिलाएका छौं भने अत्यावश्यक वस्तु अक्सिजन, एलपीजी ग्यास त्यस्तोमा कहिलेकाहीँ उनीहरुको सबै मानिस पोजेटिभ भयो मानौं ।

सुरक्षा निकायको जवानहरुलाई प्रयोग गरेर, उहाँहरुबाट पनि सञ्चालन गरेर पनि जान सकिने भन्ने एउटा सुरक्षा निकाय र हाम्रो व्यवस्थापनबीच एउटा किसिमको कोअर्डिनेट भएको छ । हाम्रा इन्डष्ट्रिभित्र आउने रअ मेटेरियलहरु बाहिर अन्य मुलुकबाट आउनुपर्ने हुन्छ । मैले अहिले महशुस गरेको के हो भने जस्तो हाम्रो केही सामानहरु भन्सारमा छुट्ने मैले भन्सारको डिजी साहेबलाई फोन गर्छु तत्कालै रेस्पोन्स गरेर उहाँले फाष्टट्रयाकमा त्यो सामान छुटाइदिनु भाछ ।

हाम्रो औद्योगिक क्षेत्रभित्रका उत्पादनका सामानहरु कहिँ गाडीहरु होल्ड भएभने मैले तत्काल सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हामिले फोन गर्छौ, तत्कालै त्यो सामान छुट्छ । अब अहिले मेरो एउटा अनुरोध के हो भने विशेष गरेर नेपालमा अक्सिजनको कमि भयो र भोलि हाहाकार हुन्छ भन्ने ह्वीम फैलिएको छ । त्यसको लागि एउटा सोलुशन सरकारले त निर्णय गरि नै सक्यो ।

हामीसँग अक्सिजनका सिलिण्डरहरु होल्ड भएर बसिदियो । व्यक्तिगत लिएर होल्ड भएर बसेको छ । त्यो होल्ड भएको फिर्ता गरिदिउँ अब । हस्पिटल गयो भने त धेरै मान्छे बाँच्छन् नि त । सरकारले २०, २५ हजार सिलिन्डर कहाँबाट लाउन सकिन्छ कि भनेर वर्कआउट गरिरहेको बेलामा सरकारले गर्ने सहयोग त्यही हो नि त । हिजो मात्रै औद्योगिक क्षेत्रको जनमैत्री भन्ने हस्पिटल थियो । उसलाई अक्सिजनको खाँचो भयो । अक्सिजन यहीँबाट दिन्छौ भनेपछि हिजोबाट १३० बेडको जनमैत्री अस्पताल सञ्चालन भयो । यो बेलामा सरकारको मात्रै मुख नताकेर, मलाई के लाग्छ भने सरकारका एजेन्सीहरु सबै लागेका छन् । अहिले एकले अर्कोलाई दोषारोपण छोडेर सबैले कसरी हुन्छ ज्यान बचाउने र कोरोना महामारीबाट बच्नेमा सबैले सहयोग गर्नुपर्छ । हामी त्यसरी नै लागिरहेका छौँ ।


औद्योगिक क्षेत्रभित्र खोपको, कोरोना संक्रमणको अवस्था के छ ?
हाम्रो व्यवस्थापन तर्फको सबै कर्मचारीले भ्याक्सिन लाइसकेको अवस्था हो । डबल डोज नै उहाँहरुले प्रयोग गरिसक्नुभयो । तथापि अहिले हामीले डाटा लिएको लगभग ५ देखी १० प्रतिशत मजदुरहरु प्रभावित भएका छन् । सबै समग्र औद्योगिक क्षेत्रहरुको १५, २० हजार मजदुरहरु मध्ये ४, ५ सयमा पोजेटिभ देखिएको छ । जस्तो नेपालगञ्जमा अलि बढी देखिइराखेको छ । बुटवलमा, हेटौँडामा देखिइराखेको छ ।

हाम्रो कर्मचारीमा लगभग लगभग साढे दुईसय कर्मचारी मध्ये हाम्रोमा दशजना जतिमा त्यसको सिम्टम्स् देखिएको छ उहाँहरुको स्थिति नर्मल नै छ । स्वास्थ्य मन्त्रालयसँग हामीले के एउटा लविङ गरिरहेका छौँ भने औद्योगिक क्षेत्रभित्र काम गर्ने मजदुरहरुको बारेमा स्वास्थ्य सुरक्षाको बारेमा पनि हामिहरुले केही हेरिदिने हो कि त । हामीले स्वास्थ्य मन्त्रालयसँग कुरा गरेका छौँ । बालाजु औद्योगिक क्षेत्रको हकमा हामिले जनमैत्री हस्पिटल सञ्चालन गरिसकेपछि त्यो हस्पिटलबाट बढीभन्दा बढी औद्योगिक क्षेत्रका लागि भ्याक्सिन लगाउने प्लानिङ गरिरहेका छौँ । अब आउने भ्याक्सिन मजदुरहरुलाई लगाउन चाहान्छौं ।

प्रतिक्रिया