बुधबार, वैशाख १२, २०८१

डिष्ट्रिलरी सञ्चालकले राजश्व छली गरेको प्रमाणित, एक—एक वर्ष कैद र ३१ करोड जरीवाना

नेपालखोज २०७६ असोज ८ गते १३:४६

८ असोज २०७६, काठमाडौँ । अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने दुई डिष्ट्रिलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालय,वीरगन्जले ३१ करोडभन्दा बढी जरिवानासहित एक—एक वर्ष कैद गर्ने निर्णय गरेको छ ।

जय श्री धौलागिरि डिष्ट्रलरी र उदयपुर डिष्ट्रिलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेको प्रमाणित भएकाले आन्तरिक राजश्व कार्यालयले दुवै उद्योगका सञ्चालकलाई कारवाही गरेको कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए ।

उदयपुर डिष्ट्रिलरीले ३६ लाख ६९ हजार ७४२ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक ओम प्रकाश कलवारलाई २६ करोड १६ लाख जरिवानासहित एक वर्ष कैद गरिएको छ ।

यसैगरी धौलागिरि डिष्ट्रिलरीले सात लाख ४५ हजार ६१५ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक शम्भुशरणप्रसाद कलवारलाई एक वर्ष कैद गरिएको छ भने पाँच करोड ४७ लाख जरिवाना गरिएको छ ।

दुवै सञ्चालकको जायजथा बिक्री तथा लिलाम गरी जरिवानाको रकम असुल उपर नभए फौजदारी संहिता अनुसार थप सात वर्ष कैद सजाय गरिने उक्त कार्यालयले जनाएको छ। दुबै उद्योग सञ्चालकलाई वीरगञ्ज कारागार पठाइएको छ ।

डिष्ट्रिलरीभित्र निगरानी गर्न खटाइएका कर्मचारीले समेत आफ्नो दायित्व पूरा नगरेको प्रमाणित भएकाले ती कार्यालयमा कार्यरत चार कर्मचारीलाई निजामती सेवा ऐन २०५० अनुसार विभागीय कारवाही गरिने निर्णय गरिएको छ ।

प्रतिक्रिया