बिहीबार, वैशाख १३, २०८१

सामाजिक सञ्जालले यसरी बढाउदैछ डिप्रेसन

नेपालखोज २०७६ असोज ९ गते १३:२१

काठमाडौँ । सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा निकै हानी पु¥याउने गरेको एक अध्ययनले देखाएको छ ।

‘द ल्यानसेट चाइल्ड एन्ड एडोलोसेन्ट हेल्थ ‘ मा प्रकाशित रिपोर्ट अनुसार १३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका एक हजार बालबालिकाको अन्तवार्ता लिएर गरिएको अध्ययनले सामाजिक सञ्जाल डिप्रेसनको मुख्य कारण भएको देखाएको छ ।

अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रुपमा किशोरकिशोरीहरूमा डिप्रेसनलगायतका मानिसक समस्या निम्त्याउने उल्लेख गरेको छ ।

अध्ययनकर्ताहरूले सामाजिक सञ्जालले विशेषगरी किशोरीहरूमा शारीरिक व्यायाम र निद्रा घटाउने निष्कर्ष निकालेका छन् । सामाजिक सञ्जालले आफैँ हानी नगर्ने तर त्यसको अत्यधिक प्रयोगले भने दैनिक जीवनमा बाधा पुग्ने निष्कर्ष अध्ययनको छ । सामाजिक सञ्जालको प्रयोगले शारीरिक व्यायाम कम गराउने मात्र नभएर मानसिक स्वास्थ्यमा समेत असर गर्ने र निद्रा पनि खल्बल्याउने अध्ययनले उल्लेख गरेको छ ।

युएसएल ग्रेट अरमोन्ड स्ट्रिट इन्स्टिच्युट अफ चाइल्ड हेल्थका सहलेखक रुसेल भाइनरका अनुसार सामाजिक सञ्जालको धेरै प्रयोगले धेरैजसो किशोरकिशोरीहरुको ध्यान हानिकारक सामग्रीमा पुगिराखेको हुन्छ । त्यसमाथि साइबर बुलिङको धेरै नकरात्मक पाटोहरू पनि उनीहरुले अनुभव गरिरहेका हुन्छन् ।

युनिभर्सिटी अफ सरेमा क्लिनिकल साइकोलोजीका प्राध्यापक बब प्याटर्नका अनुसार मानसिक स्वास्थ्य र दैनिक जीवन सुधार गर्नका लागि सामाजिक सञ्जालको कम प्रयोग गर्नुपर्छ ।

सन् २०१३ देखि २०१५ मा किशोरकिशोरीमा गरिएको एक अध्ययनले फेसबुक, इन्स्टाग्राम, ह्वाट्स (एप, ट्वीटर र स्न्यापच्याट दिनमा पटकपटक खोल्ने गरेको उल्लेख गरेको थियो। अध्ययनमा दिनमा ३ पटकभन्दा बढी प्रयोग गरिएकालाई बढी प्रयोग गरेको भनिएको थियो। तर अध्ययनले उनीहरूले सामाजिक सञ्जालमा कति समय बिताउँछन् भनेर उल्लेख गरेको थिएन ।

सामाजिक सञ्जालको बढी प्रयोगले किशोरकिशोरीमा डिप्रेसनको लक्षण देखापर्ने अध्ययनकर्ताले बताएका छन् । सामाजिक सञ्जालका कारण धेरै तनाव झेल्नेमा किशोरीहरुको संख्या ६० प्रतिशत छ भने १२ प्रतिशत किशोरहरु सामाजिक सञ्जालको बढी प्रयोगको मारमा परेका थिए ।

प्रतिक्रिया