शुक्रबार, वैशाख १४, २०८१

जलनका दुर्घटनामा कमी ल्याउनका लागि आमाहरुलाई सुझाव

नेपालखोज २०७७ भदौ २१ गते १२:४३

मेरो नाम रोजिना शिल्पकार । पेशाले म डाक्टर र अहिले सुषमा कोईराला अस्पतालमा कार्यरत छु । म जलनमा परेका बिरामीहरुलाई उपचार गर्दछु । म आमा पनि हुँ । मेरो ८ वर्षकी छोरी छिन् जो मलाई आफ्नो ज्यानभन्दा पनि बढी माया लाग्छ ।

साना छोराछोरीको स्वास्थ्य एक आमाको लागि अत्यन्तै महत्वपूर्ण हुन्छ । यदि उनीहरुलाई केही भइहाल्यो भने आमाले सहन सक्दिनन् । झन् यदि आफ्ना छोराछोरी जलनमा परे भने आमाको लागि अत्यन्तै धेरै पीडा हुन्छ । आफू जलनको उपचार गर्ने डाक्टर भएको कारण म के भन्न चाहन्छु भने जलनको उपचार अत्यन्तै कठीन हुन्छ । जलनका बिरामीहरुले धेरै पीडा भोग्छन् ।

यसको उपचारको लागि धेरै समय अस्पतालमा बस्नुपर्ने हुन्छ र उपचार खर्च पनि महङ्गो हुन्छ । त्यसैले म यस कुरामा धेरै सजग छु र परिवारका कोही पनि जलनमा नपरुन् भनेर सँधै सजग रहन्छु । नेपालमा हुने अधिकांश जलनका घटना भान्छामा नै हुन्छन् । प्रायः घरमा खाना पकाउने र बच्चाहरुको स्याहार तथा सुरक्षा गर्ने जिम्मा आमाको हुने हुँदा आमाले आफु र आफ्ना नानीहरुलाई जलनबाट बचाउन ध्यान दिनुपर्ने हुन्छ । कतिपय अवस्थामा आमाहरु नै जलनका सिकार हुन्छन् ।

खुल्ला आगो नजिक ‘सुत्केरी आमा’लाई तेल मालिस गर्ने परम्परा पनि घातक सावित भएको छ, जसको कारण नवजात शिशुहरुले आफ्ना आमाहरु गुमाएका छन् । मेरो पेशागत र व्यक्तिगत अनुभवका आधारमा जलन रोकथामको लागि सम्पूर्ण आमाहरुलाई केही सुझाव दिन चाहन्छु ।

सुझावहरु :
१. खाना पकाउने बेलामा कहिले पनि नाईलन वा सिल्कको साडी नलगाउनु होला । यस्ता कपडामा आगोले छिटो टिप्छ र जलेपछि यी कपडा शरीरका मासुमा टाँसिन्छन्, जसको कारण जलनले बढी असर गर्दछ ।

२. खाना पकाउने बेलामा सुतीको कपडाबाट बनाइएको एप्रोन प्रयोग गर्नुभयो भने यदि आगोले शरीरमा छोईहाले पनि जलन हुँदैन ।

३. खाना पकाउने चुलो (माटोको चुलो, ग्याँसको चुलो वा हिटर) भूइँभन्दा लगभग ३ फिट अग्लो हुने गरी बनाउनुस, जसले गर्दा साना नानीहरुले चुलो वा ग्याँसको आगो भेट्न सक्दैनन् र उनीहरुलाई आगोबाट हुने जलनबाट बचाउन सकिन्छ ।

४. तातो चिया, कफी वा पानी बच्चाहरुले छुने वा भेट्न सक्ने ठाउँमा नराख्नु होस् ।

५. तातो खाना, झोल पदार्थ कपडाको ढाकेको (टेबुलपोस राखेको) टेबुलमा नराख्नुहोस् । बच्चाहरुले प्राय कपडा तान्ने हुँदा ती तातो खाना वा झोल पदार्थ उनीहरुको अनुहारमा र शरीरमा पोखिएर जलन हुन सक्छ ।

६. जाडो मौसममा आगो ताप्न बस्दा आफ्नो ढाड आगोतर्फ नफर्काउनु होला । यसरी भएका जलनका घटना थुप्रै छन् ।

७. विद्युतीय उपकरणहरु प्रयोग पछि प्लगमा जोडेर नछाड्नु होला । मोबाईल चार्जमा राखेर कतै टाढा जाँदा वा राती चार्जमा राखेर सुत्दा मोबाईल बढी चार्ज भएर पड्कन सक्छ र आगलागी हुन सक्छ ।

८. सलाई, लाईटर जस्ता वस्तुहरु बालबालिकाले भेट्ने स्थानमा नराख्नुहोस् ।

९. यदि तपाईको घरमा नुहाउने ‘बाथटब’ छ भने उक्त बाथटबमा तातोपानी भरेर बच्चालाई नुहाउन लाग्नु भएको छ भने बच्चालाई त्यहाँ राख्नुअघि पानी कत्तिको तातो जाँच्नुहोस् ।

१०. तातो तेलमा सेल वा कुनै खाना पकाउँदा बच्चाहरुलाई टाढा राख्नुहोस् । तातो तेलको छिट्टाले भएको जलन पिडादायी हुन्छ ।

११. गाउँघरतिर गाईवस्तुको लागि खोले, कुँडो पकाउँदा आमाहरुले बच्चालाई पिठ्युँमा बोकेको देखिन्छ । त्यसो कहिल्यै गर्नु हुँदैन । कुनै कारण बच्चा पिठ्युँबाट फुत्केर तातो खोले वा कुँडोमा पर्न सक्छ । यसरी थुप्रै दुर्घटना भएका छन् ।

१२. खाना पकाउने चुलो भुइँमा (जमिनमा) छ भने त्यसलाई बारले बार्नुहोस् ताकि साना बच्चाहरु चुलोको नजिक जान नसकुन् ।

यदि माथि उल्लेख गरिएका कुरामा थोरैमात्र ध्यान दिने हो भने पनि जलनका घटनालाई रोकथाम गर्न सकिन्छ । जलनका कारणहरुको रोकथाम गर्न खासै खर्च गर्न आवश्यक पर्दैन ।

तर, यदि कुनै व्यक्तिलाई जलन भयो भने त्यसको उपचार अत्यन्तै खर्चिलो हुन्छ । परिवारमा जलनको दुर्घटना रोक्नका लागि त्यो आमाको भूमिका धेरै महत्वपूर्ण हुन्छ । त्यसैले, जलनका कारण र यसबाट हुने असरबारे आमाहरुलाई जानकारी हुनुपर्छ । माथि भनिएका सुझावहरुलाई ध्यान दिने हो र ती कुराहरुमा सावधानी अपनाउने हो भने जलनको घटना सजिलै कम गर्न सकिन्छ ।

 

प्रतिक्रिया