शुक्रबार, वैशाख १४, २०८१

दसैं मनाउन डेढ सातामा १० लाख सर्वसाधारण बाहिरिए

नेपालखोज २०७६ असोज १५ गते ११:४४

काठमाडौं । दशैं मनाउन डेढ सातामा १० लाख सर्वसाधारण बाहिरिएका छन् । सरकारले दशैंमा २५ लाख बाहिरिने अनुमान गरेको छ । एक साता अवधिमा ६ लाख उपत्यका भित्रिएका छन् ।

नेपाल ट्राफिक प्रहरीका प्रवक्ता एसपी रवीकुमार पौडेलले एक सातामा काठमाडौं उपत्यकाबाट बाहिरिने मात्र नभएर भित्रिनेको संख्या पनि धेरै रहेको बताए । बुधबार २४ घण्टाको विवरणअनुसार १ लाख ५७ हजार बाहिरिएकोमा ६६ हजार भित्रिएका छन् ।

दशैंका लागि १ लाख ५८ हजारले अग्रिम टिकट बुकिङ गरेका छन् । प्रवक्ता पौडेलले दशैंको अवसरमा २५ लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकोमा भित्रिने पनि उति नै रहेकाले त्यो संख्या केही कमी हुन सक्ने औंल्याए ।

उनका अनुसार अघिल्लाभन्दा यो वर्ष उपत्यकामा आएर दशैं मनाउनेको संख्या वृद्धि भइरहेको छ ।

दशैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । कतिपय ठाउँमा १६, १७ र १८ असोजका लागि टिकट नै नपाएको सर्वसाधारणले गुनासो गरेका छन् ।

सरकारले यातायात सहज बनाउन भन्दै दशैं पहिलो दिन गत १२ असोजदेखि लागू हुनेगरी सार्वजनिक यातायात रुट निलम्बन पनि गरेको छ । यातायात व्यवस्था विभागले यात्रु चाप धेरै हुने समय ‘आवागमन सहज होस्’ भनेर बाटो इजाजतपत्र (रुट पर्मिट) खुला गरिएको जनाएको हो ।

सरकारले ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै रुट परमिट खुला गरिएको अवधि गत १२ असोजदेखि नै काठमाडौं भित्रिने ठूला मालवाहक सवारीसाधनलाई चितवन नारायणगढदेखि आवागमनमा रोक लगाइएको छ ।

प्रतिक्रिया