शुक्रबार, वैशाख ७, २०८१

भावुक मुद्रामा राजिनामा दिँदै उपसभामुखले भनिन्, ‘जटिल परिस्थितिका लागि मार्गप्रसस्त गर्ने निष्कर्षमा पुगेको छु्’

नेपालखोज २०७६ माघ ६ गते १४:०६

६ माघ, काठमाण्डौ । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएकी हुन् ।

संसदमा सम्बोधन गर्दै उपसभामुखले आजको कार्यसूचीको कार्यक्रम हटाइएको जानकारी गराएकी थिइन् । त्यसपछि आफ्नो सम्बोधनको क्रममा तुम्बाहाङफेले एउटा अप्रत्याशित र अस्वभाविक अवस्थाका कारण विगत केही समयदेखि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहँदै आएको अवगतनै भएको बताइन् ।

उनले भनिन्, ‘सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधि सभा लामो समयसम्म सभामुखविहीन हुँदा उत्पन्न जटिलता र यसले सिर्जना गरेका समस्याका बारेमा हामी सबै जानकार नै छौं । यस्तो स्थितिले अब छिट्टै निकास पाउनुपर्दछ भन्ने माननीय सदस्यहरुको भावनालाई प्रतिनिधित्व गर्दै मैले पटक–पटक सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउँदै आएको यथार्थसँग माननीय सदस्यहरु परिचित नै हुनुहुन्छ । यसै तथ्यलाई मध्यनजर गर्दै आफूले मार्गप्रसस्त गर्ने निष्कर्षमा पुगेको छु ।’

प्रतिनिधि सभाको अर्काे बैठक आजै ४ बजे बस्ने गरी स्थगित भएको समेत तुम्बाहाङफेले सदनलाई जानकारी गराइन् ।

प्रतिक्रिया