बिहीबार, वैशाख १३, २०८१

होटल व्यवसायीका एजेन्ट कारण स्वदेश फर्कने नेपालीलाई सास्ती

नेपालखोज २०७६ असोज १५ गते १२:४१

१५ असोज नेपालगञ्ज । भारतबाट स्वदेश फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ । नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिशनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुःख दिँदै आएका छन् । बसको टिकट मिलाइदिने र होटलमा लाग्ने खर्चमा छुट दिने भन्दै विचौलियाले जमुनाहामा भारतबाट फर्किएका नेपालीलाई दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक माधव रिजालले भने, “यसअघि धेरै पटक सम्झाइबुझाइ गर्दा अटेरी गरेपछि नियन्त्रणमै लिनुप¥यो । होटल व्यवसायीले एजेन्ट राखेर दशैँ मनाउन भारतबाट फर्किएका नेपालीलाई दुःख दिन थालेपछि आज बिहानै ६ बजे १० जनालाई नियन्त्रणमा लिएका छौँ ।”

रिजालका अनुसार चाडपर्वका बेला नेपालगञ्जका होटल व्यवसायीले एजेन्ट राखेरै सीमामा नेपालीलाई दुःख दिने गरेका छन् । यहाँका होटलले कमिशनमा त्यस्ता एजेन्ट राखेर चाडपर्वका बेला नेपालीलाई दुःख दिने गरेका छन् । यस्ता अपराध र ठगी नियन्त्रण गर्न सबैतिर प्रहरी परिचालन गरिएको छ । एकाबिहानै होटलबाट खटाइएका विचौलिया जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीलाई तानातान गर्न थालेपछि हैरानी व्यहोर्नुपरेको छ । आफ्नो होटलसम्म पु¥याउनका लागि विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्दै आजित बनाउने गरेका छन् ।

रिजालले भने, “भारतबाट मजदूरी गर्ने नेपाली फर्किरहनुभएको छ । होटलबाट खटिएका व्यक्तिले जमुनाहामै पुगेर अभद्र व्यवहार गरिरहनुभएको छ ।” भारतबाट फर्किदै गरेका नेपालीलाई आफ्ना होटलसम्म पु¥याउन विचौलियाबीच बाझाबाझ नै हुने गरेको छ । “हामीले पटकपटक सम्झाउँदा पनि अटेरी गरेपछि नियन्त्रणमै लिएर कारवाही गर्नुपरेको छ ।” चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपाली लुटिने र ठगिने समस्याबाट पीडित भइरहेकै बेला नेपाली भूमिमै यहाँका होटलवालाले थप दुःख दिने गरेको पिडितको गुनासो छ ।

यतिबेला दैनिक करीब ५ सय नेपाली भारतबाट दशैँ मनाउन नेपाल फर्किरहेका छन् । भारतबाट आउने नेपाली बिहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् । यही मौका छोपेर होटलका विचौलिया एकाबिहानै सीमा नाका जमुनाहामा पुगेर ग्राहक तानातान गर्ने गर्छन् । यस विषयमा होटल व्यवसायी सङ्घ बाँकेले भने मौनता देखाउँदै यसलाई रोक्न कुनै सक्रियता देखाएको छैन ।

जमुनाहाबाट नियन्त्रणमा लिइएका १० जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । नियन्त्रणमा लिएकालाई सचेत गराएर साँझ मात्रै छाडिने बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए । “नियन्त्रणमा लिएकालाई सम्झाइबुझाइ गर्ने र आगामी दिनमा भन्सार र सीमा क्षेत्रमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता गर्न लगाएर साझा मात्रै छाड्छौँ”, उनले भने ।

प्रहरी उपरीक्षक ओलीको अनुसार, चाडपर्वका समयमा आवागमन बढेसँगै सिमानामा लुटपाट र ठगीका घटना वृद्धि हुँदै आएका छन् यसलाई रोक्न भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया