बिहीबार, साउन ३, २०८१

साइकलमा विशिष्ट

नेपालखोज २०८० पुष १९ गते १०:२१

यहाँ केही उल्लेख साइकल चलाउने विशिष्ट व्यक्तित्वहरूको पनि गर्न चाहन्छु । राणा शासनको समय साइकल भित्रिए पनि राणा श्री ३ वा सो भन्दा तलका कमाण्डिङ जनरल, जर्नेल, कर्णेलहरूले साइकल चलाएर हिँडेको कुनै ऐतिहासिक जानकारी सो समयका कसैबाट पनि प्राप्त भएको छैन । तर देशमा प्रजातन्त्र आउनु अगाडि तथा प्रजातन्त्र आए पछि भने सर्वसाधारण तथा राणा विरोधी आन्दोलनमा लागेका केहीले साइकलमा विभिन्न स्थान पुग्ने गरेको जानकारी भने पाउन सकिन्छ ।

राणा शासनकालमा स्वतन्त्र रूपले दरबार बाहिर घुम्न नपाएका राजा त्रिभुवन भने देशमा प्रजातन्त्र आगमन पछि साइकलमा दरबार बाहिर निस्कने गरेको भनाइ विभिन्न व्यक्तिले देखेको विवरणहरू वा लेखहरू भेटिन्छ । राजा स्वयंले साइकल चढेर घुम्न निस्कँदा राजाका अंगरक्षकहरुलाई निकै समस्या पर्दथ्यो । दुई अङ्गरक्षक पनि साधारण हतियारको साथ साइकलमा नै पछि पछि लाग्दथे । साथमा राखिएको तस्बिर राजा त्रिभुवनले चलाएर हिँड्ने बेलायती रेलै साइकलको हो । यस साइकलको सिरियल नम्बर को आधारमा हेर्दा यो साइकल २००७ साल पछि बनेको हो ।

प्रजातन्त्र आए पछिका अर्का प्रमुख साइकल चालक थिए बिपी कोइराला । बिपी कोइराला पनि प्राय साइकलमा नै कुद्थे । साथमा नेतागणहरू गणेशमानसिंह, टङ्कप्रसाद आचार्य तथा कृष्णप्रसाद भट्टराई पनि साइकलमा नै भेटिन्थे । नेपालका निकै चर्चित कवि अर्थात् महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि साइकलमा नै हुन्थे । उनको साइकल चलाउने क्रम भने राजा महेन्द्रको समय के आइ सिंह मन्त्रीमण्डलमा शिक्षा मन्त्री बनेको समयमा पनि रहेको चर्चा निकै सुनिन्छ ।

मन्त्री बने पनि डिल्लीबजारको उनको घरसम्म सरकारी गाडी पुग्न कठिन भएको हुँदा घरबाट गाडी पुग्ने ठाउँसम्म साइकलमा नै निस्कने गर्दथे । साथै मन्त्रालयबाट फर्कँदा पनि गाडीबाट झरेपछि साइकलमा नै घरसम्म खेतको आली आली साइकल कुदाउँदथे । साथमा राखिएको तस्बिर मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको साथमा नारायणप्रसाद बाँस कोटा तथा हरिहरनाथ रेग्मीलाई देख्न सकिन्छ । सुरुमा पत्रपत्रिकाका सम्पादक रहेका नारायणप्रसाद बाँस कोटा पछि प्रचार विभागका निर्देशक समेत बनेका थिए । हरिहरनाथ रेग्मी भने कुनै बेला जुद्धोदय स्कुलका अङ्ग्रेजीका माड साप थिए । यस तस्बिर मा नारायणप्रसाद बाँस कोटा तथा देवकोटा दुवै साइकलमा हुन् ।

साइकलको कथामा महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि बेलायती साइकल रेलै साइकल नै चढ्दथे । साधारण रूपमा कतै हिँडेर जानुपर्दा सुस्त र गम्भीर रूपमा हिँड्ने देवकोटा साइकलमा भने सधैँ कुदाउन मन पराउँथे । वि.सं. १९९१ मा आमाको देहान्त हुँदा भने एक महिना कडा आशौच बार्दै साइकल पनि चढेनन् । सधैँ साइकलमा कुद्नुपर्ने देवकोटाको साइकल हराएछ । चिन्तित देवकोटाको लागि साइकलमा महत्त्व अति नै थियो । तसर्थ चार दिन नहुँदै नयाँ साइकल किनेर फेरी कुदाउन थालेछ । यस्तो थियो देवकोटाको साइकल मोह ।

गणेशमान सिंह अर्थात् हीराकाजीको साइकलको पनि रमाइलो कथा छ । ९० सालको भूकम्प भन्दा अगाडि १७ वर्षे अल्लारे उमेरमा गणेशमान सिंह रुद्रशम्शेरको दरवारमा रहेको मुलुकी अड्डामा बहिदार थिए । त्यो बेला राणा शासनको समय साइकलमा बत्ती र घण्टी हुनपर्दथ्यो । तर गणेशमान भने बत्ती र घण्टी नभएको साइकल हुइँकाउँदै मुलुकी अड्डा पुगेछन् । ढोका बाहिर उभिएका आठपहरिया(सैनिक)ले रोकेछन् र सुकुलगुण्डा न्यारू भनेछन् ।

गणेशमान पनि के कम आठपहरियालाई मुक्क्याइदिएछन् । आठपहरियाको गुनासो रुद्रशम्शेर सम्म पुगेछ । रुद्रशम्शेरले समातिएको साइकल त गणेशमानलाई फिर्ता गराइदिए तर सजाय बापत आठपहरियाकै हातबाट चार पटक कान समाएर उठबस गर्ने सजाय दिएछन् । रिसाहा गणेशमानले तत्कालै जागिर छोडेर कलकत्ता लागे र राणा विरोधी आन्दोलनमा होमिएछन् ।

यसरी नै मलाई आमाले सुनाउनु भएको मेरो बुबाको साइकलको कथा याद आउँछ । बि।सं। २००२ सालतिर बुबाले पनि साइकल किन्नुभएको रहेछ । त्यति बेला साइकल कुदाउनेहरूको शान नै अलग्गै हुने गर्दथ्यो । बुबा पनि साइकल किनेपछि आफूलाई विशेष नै मान्न थाल्नु भएछ । त्यसपछि भक्तपुर मूल ढोकामा रहेको घरबाट पाटन सुनधारामा रहेको ससुराली झन्डै १० किमी टाढा साइकलमा जानु हुँदो रहेछ ।

ससुराली नजिक पुगेपछि साइकलमा कर तबहरू देखाउन थाल्नुहुदोरहेछ । कहिले बेस्सरी कुदाउने कहिले दायाँ बायाँ गर्दै कुदाउने । यस्तैमा एक दिन नराम्रोसँग साइकलबाट लड्नुभएछ । साइकलबाट लड्नुको चोट भन्दा बढी लज्जा बोध भएछ बुबालाई । त्यसपछि भने ससुरालीमा साइकलमा जान नै छोड्नु भएछ ।

यसरी देशमा प्रजातन्त्र आगमनको केही समय अगाडि देखि प्रजातन्त्र आएको केही समयसम्म साइकल निकै लोकप्रिय रहेको थियो । राजनेता वा साहित्यकार वा सर्वसाधारण सबैमा साइकलको महत्त्व धेरै नै हुने गर्दथ्यो ।

राजा त्रिभुवनको साइकलको तस्बिर हनुमान ढोका सङ्ग्रहालयका प्रमुख सन्दीप खनालबाट प्राप्त भएको हो भने लक्ष्मीप्रसाद देवकोटाको तस्बिर मदन पुरस्कार पुस्तकालयको सङ्ग्रहबाट लिइएको हो ।

प्रतिक्रिया