शुक्रबार, चैत १६, २०८०

सातामा ९२ करोडको सेयर कारोबार

नेपालखोज २०७६ असोज १७ गते १०:३६

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढे पनि कारोबार रकम घटेको छ । एक सातामा १८२ कम्पनीको सेयर कारोबार भएको हो । यी कम्पनीको ९२ करोड ५१ लाख ३ हजार ३६६ रुपैयाँ बराबरको ३७ लाख २९ हजार ९०९ कित्ता सेयर कारोबार भएको नेप्सेको तथ्यांकमा छ । गत साता भने १९० कम्पनीको १ अर्ब १९ लाख ७० हजार ८७८ रुपैयाँ बराबरको ४० लाख ४१ हजार ९१९ कित्ता सेयर कारोबार भएको थियो ।

यसअघि निरन्तर घटिरहेको सेयर बजार यस साता सकारात्मक देखिएको छ । साताको पहिलो दिन परिसूचक सामान्य घटेर १ हजार १२५ दशमलव १५ मा कारोबार बन्द भएको छ । सोमबारको बजार निरन्तर बढेर १ हजार १३५ दशमलव ५७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको देखिन्छ । त्यस्तै, बुधबार सामान्य घटेर १ हजार १४० दशमलव ७१ अंकमा बन्द भएको छ । साताको अन्तिम दिन बिहीबार १ हजार १४९ दशमलव ४० अंकमा बन्द भएको छ । साताभरिको नेप्से परिसूचक पनि पहिलो दिनको तुलनामा २४ दशमलव २५ अंकले बढेको छ ।

समूहगत परिसूचकलाई हेर्ने हो भने साताभरि ११ वटा परिस्रूचक कारोबारमा आएको देखिन्छ । यस साता कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन् ।

सातामा बढी कारोबार भएका कम्पनी

कम्पनी                                                           कारोबार रकम (रु)            कारोबार कित्ता

नेपाल बंगलादेश बैंकको प्रमोटर सेयर                 ७,०१,२५,०००                 ५,६१,०००

प्रभु बैंक                                                              ५,७९,८१,९६४                २,२३,३६१

बैंक अफ काठमाडौंको प्रमोटर सेयर                  ४,२८,६४,१६०                  २,७९,२७६

सानिमा बैंक                                                       ३,८९,२३,२९२                 १,१७,८८६

नेपाल लाइफ इन्स्योरेन्स                                      २,९९,२३,६६५                ३९,५१२

सिद्धार्थ बैंक                                                       २,९७,४३,४८०                 ९०,०५९

साताको पहिलो दिनको तुलनामा अंकका आधारमा सबैभन्दा धेरै निर्जीवन बिमा समूह बढेको पाइन्छ । जसको सेयर मुल्य १०६ दशमलव ६ अंकले बढेको छ । त्यस्तै, जीवन बिमा ८३ दशमलव ९८ अंकले, उत्पादन तथा प्रशोधन ५१ दशमलव ७ अंकले, जलविद्युत् २५ दशमलव ८ अंकले, बैंकिङ २४ दशमलव २२ अंकले, विकास बैंक २० दशमलव ४३ अंकले, लद्युवित्त ३३ दशमलव १५ अंकले, होटेल समूह १३ दशमलव ६७ अंकले, अन्य समूह ९ दशमलव ६२ अंकले, वित्त समूह ८ दशमलव ७८ र म्युचुयल फन्ड शून्य दशमलव ०३ अंकले बढेको देखिन्छ ।

यस साता चार वटा कम्पनीका सेयर नेप्सेमा सूचीकृत भएका छन् । बोनस सेयर सूचीकृत गर्नेमा प्राइम कमर्सियल बैंकको १ करोड २८ लाख ५३ हजार २७८ दशमलव १९ कित्ता, ग्लोबल आईएमई बैंकको १२ लाख ६० हजार कित्ता, नेपाल क्रेडिट एन्ड कमर्सिएल बैंकको १ करोड ११ लाख ५२ हजार ५३५ दशमलव २२ कित्ता र आईएमई जेनेरल इन्स्योरेन्स्को ४ लाख ८६ हजार कित्ता बोनस सेयर सेयर सूच्रीकृत भएको हो । यस साता नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिनसम्म खुला भएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव ११ दशमलव ६३ अंकले बढेर २५७ दशमलव ९७ अंकमा आइपुगेको छ । यो समाचार राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया