शनिबार, जेठ ५, २०८१

नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्यो, सातामा २१ अर्ब २७ करोड रुपैयाँको कारोबार

नेपालखोज २०७८ पुष २३ गते ११:३५

काठमाडौं । नेप्से सूचकसँगै यो साता सेयर कारोबार रकम पनि गत साताको तुलनामा बढेको छ । नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुल्ला रहेको र त्यसमध्ये चार कार्य दिन लगातार नेप्से बढेपछि कारोबार रकम पनि गत साताको तुलनामा बढेको हो ।

सोही आधारमा नेप्से यो साता २६ सय ९२ दशमलव ४७ अंकमा पुग्न सफल भएको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय छ दशमलव १६ अंकमा पुग्न सफल भएको छ ।

यो साता दुई सय ४० वटा कम्पनीहरुको दुई लाख ६९ हजार सात सय ३८ पटकको कारोबारमा चार करोड १३ लाख ७२ हजार पाँच सय ५६ कित्ता सेयर किनबेच भएका छन् ।

सोही किनबेचका आधारमा साप्तााहिक सेयर काराबार रकम २१ अर्ब २७ करोड ८७ लाख १२ हजार छ रुपैयाँ पुगेको छ । यो काराबार रकम गत साताको तुलनामा झन्डै चार अर्ब रुपैयाँले बढी हो । गत साता भने नेप्सेमा दुई सय ३८ वटा कम्पनीहरुको दुई लाख १४ हजार तीन सय ५१ पटकको कारोबारमा तीन करोड तीन लाख ६१ हजार दुई सय ४४ कित्ता सेयर किनबेच भएका थिए ।

उक्त साता कुल कारोबार रकम १७ अर्ब ५२ करोड ९६ लाख ९६ हजार ९८ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सोमध्ये पहिलोे, दोस्रो, तेस्रो र पाँचौ दिन नेप्से बढेको थियो चौथो दिन नेप्से घटेको थियो ।

सोही आधारमा पहिलो कारोबार दिन ६० दशमलव ४१ अंकले बढेर दुई हजार पाँच सय ८४ दशमलव ९१ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन पनि ४३ दशमलव २९ अंकले बढेपछि दुई हजार छ सय ९२ दशमलव ४७ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १० दशमलव ७७ अंंकले बढेर चार सय ८२ दशमलव एक अंकमा पुग्न सफल भएकोमा अन्तिम कार्यदिन पनि नौ दशमलव १६ अंंकले बढेर पाँच सय छ दशमलव १६ अंकमा पुग्न सफल भएको थियो ।

यसबीचमा दिनहरुमा पनि नेप्सेको दुवै परिसूचकहरु बढेका थिए । यो साता नबिल, बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने यो साता नेपाल बंगलादेश बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक अगाडि देखिएका छन् ।

बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् । सूचीकरणतर्फ यो साता अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, कामना सेवा विकास बैंक, सानिमा बैंक लगायतका कम्पनीहरुको बोनस सेयर नियमित कारोबारका लागि नेप्सेमा सूचीकृत भएका छन् ।

प्रतिक्रिया