शुक्रबार, चैत १६, २०८०

आज मात्र खुल्छ तलेजु भवानी, दर्शन गर्न जाऊँ

नेपालखोज २०७६ असोज २० गते ७:१५

२० असोज, काठमाडौँ । बर्षको एक दिन मात्र बडा दशैंको महानवमीका दिन मात्र खुला हुने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुल्ला हुने छ ।

प्रत्येक दिन नित्य पूजा आराधान गरेपनि सर्वसाधारणले अरु दिन तलेजु मन्दिरको दर्शन गर्न पाउने छैनन । हनुमनढोका हेरचाह अड्डाका अनुसार तलेजु मन्दिरको नित्य पूजाका कर्माचार्य र जोशी मात्र पुजारी रहेका छन् । प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्छन् ।

नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन् ।

मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ । सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।

सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ ।

बसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ । राजा रत्न मल्लले सबैभन्दा पहिले भवानीको मन्दिर बनाएको भए पनि पछि विसं १६२० मा महिन्द्र मल्लले अहिलेको यो मन्दिर बनाएका हुन् ।

यही मन्दिरको माथिल्लो तलाबाट राजा महिन्द्र मल्लले जनताको घरमा धुरीबाट धुवाँ निस्किएको हेरेपछि मात्र खाना खाने गरेको किम्वदन्ती छ । यो मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ ।

प्रतिक्रिया