उपनिर्वाचन – २०८० : मतदाता घटबढ, बिगतको स्थिति

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा १ करोड ८० लाख भन्दा वढी मतदाताले भाग लिँदै छन् । निर्वाचन आयोगको स्वीकृत मतदाता नामावली अनुसार वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने १ करोड ८० लाख एक हजार ५६६ जना मतदाता छन्। यी मध्ये महिला मतदाताको संख्या ८८ लाख ५२ हजार ४६ छ भने पुरुष मतदाता ९१ लाख ४९ हजार ३३५ छन्।
उपनिर्वाचनमा १२ हजार ९९६ मतदाता वृद्धि भएको निर्वाचन आयोगले जनाएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए।
उपनिर्वाचनको लागि तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् भने चितवन निर्वाचन क्षेत्र नं २ मा १ लाख २४ हजार ६९५ मतदाता छन् । त्यस्तै बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा १ लाख ५ हजार २४८ मतदाता कायम भएका छन्।
मतदाता घटबढ
वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने मतदाताको सङ्ख्यामा अघिल्लो चुनावमा भन्दा घटबढ देखिएको छ । ३ वटा निर्वाचन क्षेत्र मध्ये तनहुँ १ मा मतदाता घटेका छन् भने चितवन २ मा र बारा २ मा बढेका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा मतदान गर्न पाउने मतदाता ३ लाख ५३ हजार २४८ जना रहेको उल्लेख छ । ति मध्ये तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा १८५ मतदाता घटेर १ लाख २३ हजार ३०५ मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ४७० थप भई १ लाख २४ हजार ६९५ जना पुगेका छन् । त्यस्तै बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २३७ थप भई १ लाख ५ हजार २४८ पुगेका छन् । मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारामा १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४२ र महिला ४६ हजार २६९ थिए । सो निर्वाचन क्षेत्रमा ९२९ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।
निर्वाचनआयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपचुनावलाई ध्यानमा राखेर चितवन जिल्लामा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा चैत ६ गतेदेखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता गरिएको थियो ।
यस्तो छ तयारी
उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र कायम भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहने छन् ।
आगामी उपनिर्वाचनमा बारा क्षेत्र नं २ मा १ मतदान केन्द्र थप भएको छ भने अरु क्षेत्रका मतदान केन्द्रहरू यथावत रहेका छन् । आयोगका अनुसार चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थल यथावत रहेका छन् ।
अघिल्लो चुनाव नियाल्दा
उपनिर्वाचन हुन लागेका ३ वटै निर्वाचन क्षेत्रको चुनावी माहोल विगतको चुनावमा जस्तै तातेको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचनमा कांग्रेस, जनता समाजवादी पार्टी र रास्वपाले जितेका थिए भने अव हुने उपनिर्वाचनमा पनि तिनै दलहरूबीच टक्कर हुने देखिएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल २५ हजार ३६१ मत ल्याई विजयी थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई ५ हजार ३८० मतान्तरले पराजित गरेका थिए। कुल जनसंख्या ३ लाख २० हजार ५६५ रहेको गण्डकी प्रदेशको तनहुँ जिल्लामा १ लाख १९ हजार ६५० जना पुरुष र १ लाख २८ हजार ८४५ जना महिला गरी कुल २ लाख ४८ हजार ४९५ मतदाता रहेका थिए ।
यसैगरी मधेस प्रदेशको बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचन २०७९ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामसहायप्रसाद यादव १३ हजार ८२२ मत ल्याई विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ३५४ मतान्तरले पराजित गरेका थिए । कुल जनसंख्या ६ लाख ८९ हजार ९५० रहेको बारा जिल्लामा अघिल्लो चुनावमा कुल ४ लाख ३३ हजार ५०४ मतदाता रहेका थिए । यी मध्ये २ लाख ३६ हजार ८८० जना पुरुष थिए भने १ लाख ९६ हजार ६१२ जना महिला थिए ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ४९ हजार २६४ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतान्तरले पराजित गरेका थिए। वाग्मती प्रदेशमा पर्ने चितवन जिल्लाको कुल जनसंख्या ५ लाख ६७ हजार ९८८ रहेको छ ।
मंसिर ४ गतेको चुनावमा यस जिल्लामा कुल ४ लाख ८ हजार ३४२ मतदाता रहेका थिए । ति मध्ये १ लाख ९९ हजार ०३२ जना पुरुष थिए भने २ लाख ९ हजार ३०९ जना महिला थिए ।
उम्मेदवारको अवस्था
उपनिर्वाचनको लागि चितवनमा २४ जनाले उम्मेदवारी दिएका छन् भने तनहुँमा ९ जनाले उम्मेदवारी दिएका छन्। चितवन २ मा राजनीतिक दलबाट १२ जना र स्वतन्त्रबाट १२ जनाले उम्मेदवारी दिएका हुन्। तनहुँ १ र बारा २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् ।
त्यस्तै बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको रौनक पनि उत्तिकै बढेको छ । सो क्षेत्रमा सबैभन्दा धेरै उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार बारा २ मा ३६ जनाले उम्मेदवारी दिएका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशभरबाट निर्वाचित उम्मेदवारमध्ये ३ जना उमेदवारको स्थान रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । आम निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि सो क्षेत्रमा उप निर्वाचन हुन लागेको हो ।
त्यस्तै तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा पनि बैशाख १० मा उपनिर्वाचन हुँदैछ । यसैगरी मंसिर ४ को चुनावमा बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया