शुक्रबार, चैत १६, २०८०

उपनिर्वाचनमा ३८ हजार मतदाता

नेपालखोज २०७६ असोज २७ गते १२:५५

काठमाडाैं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्यु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ ।

गण्डकी प्रदेशसभा सदस्य अन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन् । उपनिर्वाचनमा जिल्लाको क्षेत्र नं २ को प्रदेशसभा ‘ख’बाट ३६ हजार ९२६ र बडिगाड गाउँपालिका–२ का एक हजार ७७५ गरी जम्मा ३८ हजार ७०१ मतदाता उपनिर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकास पौडेलले बताए । यसअघि प्रदेशसभा (ख) मा ३३ हजार २४० मतदाता सहभागी भएका थिए ।

उपनिर्वाचनमा भाग लिने दलले निर्वाचन आयोगमा दल दर्ता गरिसकेपछि बागलुङमा चुनावी सरगर्मी बढ्न थालेको छ । ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा ४२ मतदानस्थल रहनेछन् भने बडिगाड गाउँपालिका–२ मा दुई मतदानस्थल रहनेछन् ।

गण्डकी प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका (राजमो) टेकबहादुर घर्तीको २०७५ सालको मङ्सिर २६ गते निधन भएको थियो । राजमोबाट जिल्ला नेता घर्तीले तत्कालीन एमाले र माओवादी केन्द्रको समेत समर्थनमा बाम गठबन्धनका साझा उम्मेदवार बनेर चुनाव जितेका थिए । जन्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

रिक्त रहेको दुई पदमा उपनिर्वाचन हुने भएपछि यस क्षेत्रमा क्रियाशील नेपाल कम्युनिष्ट पार्टी, नेपाली काङ्ग्रेस र राजमोका नेताले पार्टीका जिल्ला र केन्द्रीय स्तरका नेतासमक्ष आफ्नो उम्मेदवारी आकाङ्क्षा प्रस्तुत गर्न थालेका छन् ।

यसअघि प्रदेशसभामा बाम गठबन्धनबाट विजयी घर्तीका धर्मपत्नी सुनमाया घर्तीलाई मुख्य सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । यद्यपि सुनमाया यसै वर्ष मात्र स्थायी शिक्षकमा नाम निकालेर पारिवारिक जीवनलाई लयमा लैजाने बेलामा पुनः श्रीमानकै उत्तराधिकारीका रुपमा राजनीतिक मैदानमा आउने सम्भावना कमजोर देखिन्छ । सुनमायाले निर्णय गर्न नसकेको अवस्थामा राजमोबाट अन्य उम्मेदवार मैदानमा आउन सक्ने सम्भावना छ । विगतको बाम गठबन्धन सहकार्यले निरन्तरताको विषयमा पनि चर्चा परिचर्चा र अनेक अनुमान शुरु भएको छ ।

नेपाली काङ्ग्रेसले भने चार जना स्थानीय नेताको नाम केन्द्रमा सिफारिस गरेर पठाइसकेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार रिक्त रहेको स्थानहरुको उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेको जनाएको छ । जसमध्ये दुई लाख ३३ हजार ४०२ महिला र दुई लाख २० हजार ७१० जना पुरुष छन् । मङ्सिर १४ गते प्रतिनिधिसभाको एक, प्रदेशसभाको तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कूल ५२ पदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया