रकम फिर्तामा सिद्धार्थ क्यापिटलको लापरवाही
२८ असोज, काठमाडौं । वित्त क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको चरम लापरवाहीको थप पुष्टि अहिले सिद्धार्थ क्यापिटल गरेको छ ।
सिद्धार्थ क्यापिटलको दोस्रो सामूहिक लगानी कोष योजना सिद्दार्थ ईक्विटी ओरियन्टेड स्किम परिपक्व भएर इकाइ धनीलाई पैसा फिर्ता गर्ने क्रममा चरम लापरवाहीका कारण दोहोरो भुक्तानी गरिएको छ । क्यापिटलले पैसा फिर्ता गर्ने क्रममा लाभांश लिइसकेका इकाइ धनीलाई पनि लाभांशसहित रकम फिर्ता गरेपछि कतिसम्म लापरवाही हुन्छ भन्ने कुराको पुष्टि भएको हो ।
सिदार्थ क्यापिटलले सो योजना अन्तर्गत किनेका सबै शेयर बिक्री गरेपछि असोज १५ गते त्यसको लेखापरीक्षण सकिएर अन्तिम हिसाब तयार भएको क्यापिटलले जनाएको छ ।
सो योजना इकाइ धनीलाई दशैं अघि नै पैसा फिर्ता गर्ने योजना अनुसार हतारमा काम गर्दा थोरै पैसा दिनुपर्ने इकाइ धनीलाई धेरै पैसा गएको बताएको छ । गत बिहीबार क्यापिटलले इकाइ धनीको बैंक खातामा आईपीएस मार्फत् पैसा पठाएको हो ।
९० प्रतिशत इकाइ धनीको खातामा पैसा पठाइसकेपछि केही इकाइ धनीको खातामा धेरै पैसा गएको थाहा पाएपछि त्यो पैसा फिर्ता लिन खोज्दा शुक्रबार आईपीएस बन्द भएको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले स्वीकार गरेका छन् । तिमिल्सिना भन्छन, “इकाइ धनीलाई दसैं अघि नै पैसा पठाइदिन हतार गर्दा केही त्रुटी भयो।” धेरै पैसा गएका इकाइ धनीको खाताबाट पैसा फिर्ता तान्ने काम पनि आफूहरुले गरिरहेको उनले बताए ।
७० प्रतिशत जति संस्थागत लगानीकर्ताहरु र बाँकी साना साना इकाइ धारण गर्ने सर्वसाधारण थिए । त्यसमध्येको नब्बे प्रतिशतको बैंक खातामा पैसा गएको हो । कतिपय लगानीकर्ताले इकाइ डिम्याट नगरी कागजी प्रमाणपत्र नै राखेका थिए भने कतिपयको बैंक खाता डिम्याट खातामा आवद्ध भएको थिएन । यी विविध समस्याका बीच बक्यौता लाभांश र कोषको बाँकी पैसा एकैचोटी पठाउँदा यस प्रकारको लापरवाही देखिएको हो ।
प्रतिक्रिया