शनिबार, जेठ १, २०७८

राष्ट्रपति भण्डारी चारदिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान

नेपालखोज २०७६ असोज २९ गते ११:४९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छिन् । भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको विशेष निमन्त्रणामा म्यानमार गएकी हुन् । राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन् । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्नेछिन् ।म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन् । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । उनले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँका पनि भ्रमण गर्नेछिन् ।

राष्ट्रपति भण्डारी कात्तिक २ मा जापान जानेछिन् । उनी त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुनेछिन् । घुमघामपछि भण्डारी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाल र म्यानमारबीच सन् १९६० देखि कूटनीतिक सम्बन्धको सुरुआत भएको हो । परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतराज पौडेलका अनुसार राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण दुई मुलुकबीच इतिहासदेखि चल्दै आएको सम्बन्धलाई थप बलियो बनाउनका लागि हुन लागेको हो ।

गत वर्ष म्यानमारका राष्ट्रपति मिन्टले नेपाल भ्रमण गरेका थिए । ‘दुई मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन कूटनीतिक रूपमा यस्तो उच्चस्तरीय भ्रमण भइरहेका हुन्छन्, हाम्रो यसपटकको भ्रमणलाई पनि त्यसको एउटा भागका रूपमा लिन सकिन्छ,’ पौडेलले भने ।

प्रतिक्रिया