शुक्रबार, चैत १६, २०८०

मोबाइल बैङ्किङ प्रयोगकर्ताको संख्या ५ गुणाले बढ्यो ! कति नेपालीका छन् बैंक खाता ?

नेपालखोज २०७६ असोज २९ गते १३:३३

२९ असोज, काठमाडौँ । बैंकिङ सेवा प्रयोग गर्ने नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । यसले नेपालीको वित्तीय पहुँच बढाएको तर्फ संकेत गर्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांक अनुसार नेपालमा पछिल्ला २ वर्ष यता मात्र बैंक सेवा प्रयोग गर्नेको संख्या १६ प्रतिशतले बढेको छ ।

विश्व बैंकले २०१७ मा गरेको सर्वेक्षणले ४५ प्रतिशत नेपालीसँग मात्र बैंक खाता रहेको देखाएको थियो भने अहिले यो संख्या बढेर ६० दशमलव ९ प्रतिशत छ । अहिले १ करोड ८० लाख नेपालीसँग बैंक खाता रहेको छ । राष्ट्र बैंकले २ करोड ७८ लाख निक्षेप खातामा प्रति व्यक्तिको खाता छुट्याएर यो तथ्याङक सार्वजनिक गरेको हो ।

एकै व्यक्तिका धेरै खाताको दोहोरोपना हटाउन निक्षेपकर्ताले बैंकमा पेस गरेको तीनपुस्तेबाट अध्ययन गरिएको तथ्याङक हो ।
२०७६ असार मसान्तसम्ममा वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या २ करोड ३५ लाख ४५ हजार रहेको थियो । यी खाता भने व्यक्ति र संस्थाका दोहोरो अवस्थामा पनि छन् ।

कति छन् एटिएम र डेबिट कार्ड ?

राष्ट्र बैंकको तथ्याङक अनुसार ६७ लाख ८ हजार ५ सय २१ जनाको खल्तीमा डेबिट कार्ड छा् । बैङ्क तथा वित्तिय संस्थामा एटिएमको संख्यामा निकै बृद्धि भएको छ ।

२०७६ असार मसान्तसम्म एटिएमको संख्या ३ हजार ३ सय १६ पुगेको छ । जबकी गत वर्ष यस्तो संख्या २ हजार ७ सय ९१ रहेको थियो । उसो त क्रेडिट कार्ड लिनेहरुको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । क्रेडिट कार्ड लिनेको संख्या १ लाख २३ हजार १ सय ४६ पुगेको छ ।

मोबाइल बैङ्किङ प्रयोगकर्ताको संख्या पनि ३ वर्षमा ५ गुणाले बृद्धि भएको छ । अहिले मोबाइल बैङ्किङको प्रयोगकर्ता ८३ लाख ४७ हजार    छन् । यस अवधिमा इन्टरनेट बैङ्किङ्ग प्रयोगकर्ताको संख्या समेत ५ लाखबाट बढेर ९ लाख पुगेको छ । त्यसैगरी, शाखा रहित बैंकिङ्ग केन्द्रको संख्या पनि बढ्दै गएको छ ।

प्रतिक्रिया