बिहीबार, चैत १५, २०८०

तीनकुने शान्तिमण्डल निर्माणको पूरा काम अझै अन्यौलमै

नेपालखोज २०७६ असोज २९ गते १४:३८

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि काठमाडौँ महानगरपालिकाले ‘तीनकुने शान्तिमण्डल’ किनाराको भागमा केही काम गरेपनि पूरा काम कहिले हुने भन्ने विषय अझै अन्यौलमै रहेको छ । विगत पाँच वर्षअघि नै कामपाले निर्माणको कार्य अघि बढाउने योजनाअघि सारेपनि अहिलेसम्म कत्ति पनि काम अघि बढ्न सकेको छैन । यही असोज २५ र २६ गते राष्ट्रपति सीको नेपाल भ्रमणका लागि तत्कालको लागि सुन्दर देखाउन केही काम भएको थियो ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार हाल गरिएको सौन्दर्यको कार्यलाई यथावत राख्दै बाँकी काम अघि बढाइने छ । डङ्गोलले भने,“सङ्घीय सरकारले स्थानीयवासीलाई मुआब्जा दिनुपर्छ, मुआब्जाको विवाद हटेसँगै कामपाले निर्माणको कार्य अघि बढाउँछ ।” निर्माणको लागि कामपाले वार्षिक रुपमा बजेट पनि छुट्याउँदै आएको छ ।

पाँच वर्ष पहिले नै कामपाले नक्साङ्कनको काम सम्पन्न गरी मण्डल निर्माण गर्ने भनेको थियो । तीनकुनेमा रहेको ५० रोपनी जग्गामा उक्त मण्डल निर्माण गर्ने तयारी कामपाको भए पनि स्थानीयवासीलाई दिइँदै आएको मुआब्जा विवादले गर्दा काम अघि बढ्न नसकेको हो ।

अत्याधुनिक ‘तीनकुने शान्तिमण्डल’का लागि यसअघि दिइएको मुआब्जा आफूहरुलाई अपुग छ भन्दै स्थानीयवासीले अडान लिँदै आएका छन् । पच्चीस घरधनीले अहिलेसम्म मुआब्जा लिएका छैनन् । उनीहरुले पहिलेको मुआब्जा पुनः मूल्याङ्कन गर्नुपर्ने समेत माग गरेका छन । कामपाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ गौतमबुद्धको विशाल मूर्तिसहितको मण्डल निर्माण गर्न लागेको हो ।

पहिले नै कामपाले बोलपत्रको आह्वान गर्ने तयारीसमेत गरिसकेको थियो । प्रदेशसभा सदस्य पहिलो पटक केशव स्थापित कामपा प्रमुख भएका बेला उनले ‘काठमाडौँका निर्माता’ मञ्जुश्रीको शालिक राख्ने अडान लिएका थिए । योजनानुरुप सो शान्तिमण्डलको बीच भागमा बुद्धको विशाल मूर्ति हुनेछ । मण्डल हिन्दू र बौद्ध धर्मलाई समायोजन गरी तयार गर्ने बताइएको छ । मण्डलको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति पनि राखिने छ ।

मूर्तिको वरिपरि रूख–बिरुवा रोपिने बताइएको छ । संरचनाको तीनवटै कोणमा चौबीसै घण्टा पानी आउने फोहरा निर्माणको योजना छ । हरेक वर्ष बजेट छुट्याउँदै आएको कामपाले चालू आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन पनि गरेको छ ।

मुआब्जाका विषयमा कुरा मिलेको खण्डमा आवश्यकताअनुरुप बजेट थप्न सकिने पनि कामपाले जनाएको छ । राष्ट्रपति सीको भ्रमणको समयका लागि भन्दै कामपाले पहाडको डिस्को जस्तो बनाई चारैतिर विभिन्न किसिमका सजावटका बिरुवा र फूल रोपी सजावटको काम गरेको छ । गत वर्ष भदौमा भएको विमस्टेक सम्मेलनमा पनि यस स्थानको बाहिरी भागलाई सुन्दर बनाउने कार्य यसरी नै गरिएको थियो ।

प्रतिक्रिया