शुक्रबार, चैत १६, २०८०

एकै गोठबाट दशैँमा २० लाख आम्दानी

नेपालखोज २०७६ कार्तिक १ गते १२:३९

काठमाडाैं । दशैँका अवसरमा भेडा र खसी बिक्री गरेर यहाँका एक किसानले एकै महीनामा रु २० लाख बढी आम्दानी गरेका छन् । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १०० को हाराहारीमा भेडा र खसी बिक्री गरेका हुन् ।

व्यापारीले गोठमै पुगेर भेडा र खसी खरीद गरेको भेडापालक कृषक छन्त्यालले बताए । धवलागिरि हिमालको फेदी नजिक ऋखार क्षेत्रमा रहेको गोठबाट एकैपटक रु २० लाख बढीका भेडा र खसी बिक्री भएपछि आफू उत्साहित बनेको उनले बताए । दशैँका अवसरमा भेडा र खसीको व्यापार गर्नका लागि मल्कबाङ, कुइनेमङ्गलले, चिमखोलालगायतका ठाउँबाट व्यवसायी गोठमै पुगेका उनले जानकारी दिए ।

गण्डकी प्रदेशमा रहेका ठूला भेडा फार्ममध्येमा पर्ने छन्त्यालको फार्ममा अझै ४०० बढी भेडा छन् । तिहारलाई लक्षित गरी १०० को सङ्ख्यामा भेडा र खसी बिक्री गर्ने तयारी गरेको उनको भनाइ छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट फर्किएर उनले रु ६० लाख लगानीमा भेडापालन शुरु गरेका थिए ।

अहिले कुईनेमङ्गलेको नयाँ वनमा रहेको भेडी गोठलाई मल्कबाङको मयाले हुँदै सिङ्कोस बगर लैजाने तयारी गरिएको उनले जानकारी दिए । हिउँदमा बेंसी झर्ने भेडीगोठ अहिले लेकमा छन् । छन्त्यालको भेडीगोठमा अहिले दुई जना गोठाला छन् । भेडीगोठको सुरक्षामा गोठालासँगै ‘भोटे कुकुर’ पनि राखिएका छन् ।

प्रतिक्रिया