प्रधानमन्त्रीले गरे नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास
४ कार्तिक, काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य केन्द्रका रुपमा रहेको थानकोटको सवारी जाम कम गर्नका लागि बनाईने भनिएको सुरुङ्ग मार्ग प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिलान्यास गरेका छ ।
सवारी जाम कम गर्नका लागि नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्नका लागि लामो सयमदेखि चर्चा र बहश भएको भएपनि आज शिलान्यास भएको छ ।
सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण गरेका छन् ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सो सुरुङ मार्गका लागि रु २२ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र भने छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ ।
प्रवेश मार्गसहित ५.५६ किमि सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए ।
सुरुङ्ग मार्ग निर्माणका लागि करीब रु छ अर्ब स्थानीयबासीहरुलाई जग्गाको मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिकाको वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ । हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ । चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक निर्माण गर्न लागिएको उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो ।
सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।
प्रतिक्रिया