शुक्रबार, वैशाख १४, २०८१

बागलुङको उपनिर्वाचनका लागि कांग्रेस र जनमोर्चाको उम्मेदार सिफारिस

नेपालखोज २०७६ कार्तिक ५ गते २१:२०

५ कार्तिक, बाग्लुङ । बाग्लुङ क्षेत्र नं २ (ख) का लागि आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाले सम्भावित उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ ।
तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने अझै उम्मेदवार सिफारिस गर्न सकेको छैन ।
नेपाली काङ्ग्रेसले महाधिवेशन प्रतिनिधि जीतबहादुर शेरचन, क्षेत्रीय सभापति दोर्ण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्तीको नाम सिफारिस गरेको हो ।

क्षेत्रीय समितिबाट आएको नामावलीलाई अनुमोदन गरेर पार्टी केन्द्रमा पठाइएको नेपाली काङ्ग्रेस बागलुङका सभापति दीपेन्द्र थापामगरले बताए । “सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका छौँ”, उनले भने, “उम्मेदवारको अन्तिम टुङ्गो पार्टी केन्द्रले नै लगाउँछ ।”

तीन जनाको नाम सिफारिस गर्नुपर्ने भए पनि आकाङ्क्षी बढी भएपछि काङ्ग्रेसले चार जनाको नाम पठाएको छ । पहिलो नम्बरमा सिफारिस हुनुभएका शेरचन यसअघिको निर्वाचनमा समेत उम्मेदवार थिए । शेरचन तत्कालीन वाम गठबन्धनबाट विजयी भएका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसँग पराजित भएका व्यक्ति हुन् ।

प्रदेशसभा सदस्य घर्तीको गत वर्ष स्वास्थ्य समस्याका कारण निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । आफ्नै उम्मेदवारले जितेको क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले पनि सम्भावित तीन जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।

जनमोर्चाले स्वर्गीय प्रदेशसभा सदस्य घर्तीकी पत्नी सुनमाया घर्ती, जिल्ला उपाध्यक्ष धर्मबहादुर कुँवर र जिल्ला सदस्य खिमविक्रम शाहीको नाम सिफारिस गरेको हो । उम्मेदवारको अन्तिम निर्णय पार्टीको केन्द्रीय संसदीय बोर्डले गर्ने राजमोले जनाएको छ ।

प्रतिक्रिया