‘पार्टी एकताको प्रयासमा ओली इमानदार देखिएनन्, वार्ताको औचित्य छैन’

काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले पार्टी एकताको प्रयासमा अध्यक्ष केपी शर्मा ओली इमान्दार नदेखिएले वार्ताको औचित्य नभएको निष्कर्ष निकालेको छ । नेपाल–खनाल पक्षको केही दिनदेखिको भर्चुअल संवादपछि बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
जबसम्म पार्टी एकताको लागि लिखित रुपमा बुझाइएको मागहरु विश्वसनीय रुपमा पूरा हुँदैनन् तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिने नेपाल खनाल पक्षको निष्कर्ष छ । साथै ओलीले पार्टी एकताका नाममा षड्यन्त्र गर्दै गएको भन्दै भ्रममा नपर्न पनि कार्यकर्तालाई अपिल गरेको छ ।
पार्टी एकताका लागि आफूहरुले अन्तिम समयसम्म प्रयास गरेको भएपनि अनेक बहानामा सार्थक हुन नदिई पार्टीलाई एकताबद्ध राख्ने चाहनामा कुठाराघात भएको आरोप लगाएकोछ ।
पार्टी एकताका लागि गठित कार्यदलका आफ्नो तर्फका संयोजकलाई नै कारबाही गरेर अध्यक्ष ओलीले वार्ताको औचित्य समाप्त पार्ने काम गरेको आरोप लगाउँदै नेपाल–खनाल पक्षले चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
आफूहरुले अघि सारेका मागहरु तत्काल निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुनेगरी सहमति सार्वजनिक भए मात्र ओली एकताको पक्षमा रहेको ठहरिने उल्लेख गरिएको छ । (बैठकबाट पारित प्रस्तावका लागि यहाँ क्लिक गर्नुहोस्)
अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्रपूर्ण जालझेलमा अलमलिनु नहुने स्पष्ट भएको निष्कर्ष निकाल्दै नेपाल–खनाल पक्षले अब वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने अवस्था आएको जनाएको छ ।
प्रतिक्रिया