दुईमाजु मन्दिरको सम्झौता खारेज
६ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २८ रत्नपार्क र खुलामञ्चको वीचमा रहेको ऐतिहासिक र धार्मिक महत्वको दुइमाजु मन्दिरमा पसल कवल सञ्चालन गर्नका लागि गुठी संस्थानले गरेको सम्झौता खारेज हुने भएको छ ।
सम्पदा प्रेमीहरुले लामोसमयदेखि गरेको आन्दोलनका कारण अन्तत : मन्दिर परिसरमा राखिएका पसलहरु हट्ने भएका छन् । दुई माजु क्षेत्रमा सरसफाई गर्ने जिम्मेवार पाएकी अमृता भट्टराई पहुँचका आधारमा लामो सयमदेखि सो क्षेत्रमा अन्य व्यक्तिहरुलाई व्यवसायिक प्रयोजनका लागि भाडामा लगाएकी थिइन् ।
काठमाडौं महानगरपालिकाकी उपमेयर तथा अनुगमन समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठ, मन्दिर क्षेत्र रहेको वडा नं १८ का वडा अध्यक्ष भाईराम खड्गी, गुठी संस्थानका प्रतिनिधिहरु, सम्पदा प्रेमी सञ्चारकर्मीहरु सहितको टोलीले सो क्षेत्रको आज अनुगमन गरेपछि त्यस क्षेत्रमा व्यवसायिक प्रयोजनका लागि गरिएको सम्झौता खारेज गर्ने तयारी गुठी संस्थानले गरेको छ ।
अनुगमन गर्न पुगेकी महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले सम्पदा क्षेत्रको संरक्षण गर्नु महानगरपालिकाको मात्र नभई आम नागरिक एवं सम्वन्धित निकायको पनि उत्तिकै जिम्मेवारी रहेको बताइन् । दुईमाजु मन्दिर क्षेत्रमा भएको अनाधिकृत प्रयोगका विषयमा आफूहरुले विगतदेखि नै विरोध गरिरहेको भएपनि गुठी संस्थानले ठोस कदम चाल्न नसकेको काठमाडौं महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष भाईराम खड्गीको भनाई छ ।
ऐतिहासिक, सास्कृतिक एवम धार्मिक स्थल दुईमाजु मन्दिर क्षेत्र कब्जा गरी पसलहरु सञ्चालन भई रहेका कारण सम्पदा क्षेत्र कुरुप बनाएको भन्दै सम्पदाप्रेमी एवं नागरिक समूहले पटक पटक धर्ना समेत गर्दै थिए । गुठि संस्थानले अवैधानीक तरिकाले पसल सञ्चालन गर्न स्विकृति दिए पश्चात यस क्षेत्रमा रहेको दुईमाजु मन्दिरको क्षेत्र कुरुप हुदै गएको तथा धर्म लोप हुदै गएकाले त्यसको संरक्षण गर्न आवश्यक रहेको सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठको भनाई रहेको छ ।
एक रोपनी भन्दा बढी क्षेत्रफल रहेको यस जग्गामा १७ वटा व्यवसायिक पसलहरु रहेका छन् भने प्रति पसल १५ हजार भाडा उठाउने गरिएको व्यापारीहरुले बताएका छन् । गुठीको जग्गामा पसल सञ्चालन गर्न गुठी संस्थानले २०७५ साल मंसिर ९ गते अमृता भट्टराईलाई महिनाको १५ हजार तिर्ने करार गराएर पाँच वर्षसम्म मन्दिरमा व्यापार गर्न भाडामा दिएको थियो । तर, भट्टराईले सम्झौता विपरीत अरुलाई मन्दिर परिसरमा व्यापार गर्न दिएर आफूले मासिक रुपमा धेरै भाडा असुल्ने आईरहेकी थिइन ।
सम्पदा क्षेत्रलाई व्यवसायिक प्रयोजनका लागि प्रयोग गरेका कारण चर्को विवाद भएपछि गुठि सस्थानका प्रशासन प्रमुख नारायण चौधरीले मन्दिर सरसफाइ गर्ने दायित्व दिएकी कर्मचारीसंग भएको सम्झौता खारेज पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया