बुधबार, वैशाख २६, २०८१

महरालाई दश बर्षसम्म कैद हुन सक्ने गरी प्रहरीले प्रतिवेदन बुझायो

नेपालखोज २०७६ कार्तिक ८ गते १७:१३

८ कार्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई १० वर्षसम्म कैद हुन सक्ने गरी प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । नेपाल प्रहरीले २० दिनसम्म गरेको अनुसन्धानबाट निवर्तमान सभामुख कृष्णबहादुर महराले कर्मचारी रोशनी शाहीलाई जवरजस्ती करणी गर्न खोजेको पुष्टि गर्दै उनी विरुद्ध कैद र जरिवाना माग सहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा महरालाई मुलुकी अपराध संहिता २०७४ को बलात्कार प्रयास सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ। स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पदमा रहेर महरा बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएकाले त्यसउपर पनि कारबाही माग गरिएको छ।

प्रहरी अनुसन्धान प्रतिवेदनमा ‘घटनास्थल मुचुल्का, जाहेरी तथा हालसम्म जाँचबाट आएका रिपोर्टहरूले जबरजस्ती करणी उद्योग गरेको देखिन आएको’ उल्लेख गरिएको प्रहरी स्रोतले जनाएको छ।तर, महराले भने इन्कारी बयान दिएको पनि प्रहरीले जनाएको छ।
हिजो विहिबार मात्र महरालाई सात दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको थियो । महराले इन्कारी बयान दिएको भएपनि कसुरका प्रमाण पुग्ने गरी अनुसन्धान प्रतिवेदन प्रहरी बुझाएको देखिन्त ।

अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिन सक्छ वा अभियोगपत्र अदालतमा दर्ता गर्न सक्छ। मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकार पनि सरकारी वकिलको कार्यालयलाई छ।

अनुसन्धानका क्रममा शाहीको कोठामा बरामद भएको महराको फुटेको चश्मा, गिलास, बोत्तल लगायतको फरेन्सिक जाँच गरिएको छ। केही रिपोर्टहरू अझै आइनसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताएका छन् ।
मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ। अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया