शनिबार, वैशाख १५, २०८१

डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो

नेपालखोज २०७६ कार्तिक ८ गते २१:५४

८ कार्तिक । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान् जगदिश जोशीले बताए ।

गौरीलाई नेपालगञ्जमा उपचार गरी घर ल्यायँदै थियो । उनलाई बाटोमा असहज भएपछि थप उपचारका लागि भारत लगिएको हो । जगदिशका दाजु बिसनदत्त जोशीका अनुसार गौरीलाई उपचारका लागि भारत लगिएको र आफू उपचार खर्च जुटाउन घर फर्किएको बताए । “उपचार गराउन खर्च अभाव भएको छ, मजदूरी गरेर खाने मान्छे उपचार गराउन कहाँबाट पैसोको जोहो गर्नु”, उनले भने ।

नेकपाको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा भएको डोजर प्रकरणमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाले गत सोमबार स्थानीयवासीबीच विवाद हुँदा घटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालले आज विज्ञप्ति जारी गर्दै दशरथचन्द नगरपालिकाले नै सुणन्नाखानदेखि पार्स जोड्ने सडक खन्नका लागि अनुमति दिएको, नगरप्रमुख आफैँले सडकको उद्घाटन गरेको र दुई सडक निर्माणका लागि नगरपालिकाले आश्वासन दिएको बताए ।

दशरथचन्द नगरपालिकाले विगतदेखि बिना योजना दर्जनौँ सडक निर्माण गरी करोडौँ रुपैयाँ खर्च गरेकोप्रति नेकपाले आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारावाही गर्न नेकपाले आग्रह गरेको छ ।

प्रतिक्रिया