मंगलबार, वैशाख ४, २०८१

नेवार समुदायको म्ह पूजा राष्ट्रिय गौरवको पर्व

नेपालखोज २०७६ कार्तिक १० गते १३:१६

१० कार्तिक, काठमाडौं । ओं आः हुं तिष्ठ बज्रासने हुं ।।
अर्थात आफ्नो शरीरको प्रतिनिधि काय (शरीर), वाक (वचन) र चित्त (मन) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई मण्डपमा विराजमान गराई गरिने पूजा नै म्ह पूजा हो । काय, वाक र चित्तको परिशुद्धि र एकाग्रताले व्यक्तिमा उत्पन्न हुने नराम्रो विचार र भावनाको अन्त हुन गई कुशल९सक्षम० विचार वा चित्त उत्पत्ति भई राम्रो कार्य गर्न सदा उत्प्रेरित गर्दछ । व्यक्तिको चित्त एकाग्र भएको अवस्थामा धर्म चित्त उत्पत्ति हुनेछ, जसलाई धर्मोदय भनिन्छ ।

कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानको रूपमा रहेको म्ह पूजा गर्दा माथिका श्लोकहरुको उच्चारण गरिन्छ । यो म्ह पूजा हजारौँ वर्षदेखि मुलुकको राष्ट्रिय गौरवको रूपमा देशभरि चल्दै आइरहेको छ ।

स्वन्ति नखः अन्तर्गतको म्ह पूजा गैरनेवार समुदायबीच पनि सुपरिचित छ । विशेषगरी अरु समुदायको भन्दा छुट्टै मौलिक पहिचान भएको म्ह पूजामा विशेष प्रकारको मण्डप बनाई तयार गरिने हुँदा मण्डप हेर्ने जोकोही दर्शकको मन तान्छ ।

नेपाल संवत्अनुसार हरेक नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्ह पूजा (आफ्नो शरीरको पूजा आफैँ गर्ने) गर्ने परम्परा छ । म्ह पूजाको दिन अर्थात यही कात्तिक १२ देखि नेपाल संवत्अनुसारको नयाँ वर्ष शुरु हुन्छ । यो दिन नेवार समुदायमा न्हूदँया भिँतुना (नयाँ वर्षको शुभकामना) आदानप्रदान गर्ने गरिन्छ ।
बौद्ध विद्वान राजेन्द्रमान बज्राचार्यका अनुसार आफ्नो शरीरभित्र रहेको चित्त शुद्धिकरण गर्न हजारौँ वर्षदेखि नेवार समुदायले म्ह पूजा गर्दै आइरहेको छ। नेवार समुदायमा म्ह पूजा औँशीको दिन गर्न नहुने मान्यता छ । सूर्योदयका साथ आएको चन्द्रमाको तिथिअनुसार म्ह पूजा मनाउनुपर्छ । स्वन्ति नखः ९तिहार० का सबै दिन खुशीयालीका दिन भएकाले म्ह पूजा नेपाल संवत् ११४० कछलाथ्व पारुका दिन मनाउनुपर्छ ।

बज्रयान महासङ्घका अध्यक्षसमेत रहनुभएका बज्राचार्यका अनुसार नेवार समुदायमा स्वन्ति नखः मनाउँदा तिथिको दोहोरोपन अथवा तिथि छुटको गणना हुँदैन । तिथिको गणनाका कारण मानिसमा अलमल हुने गरेको पाइन्छ ।

म्ह पूजाका दिन बिहान सबैरै नुहाइधुवाई गरी आफूलाई शुद्ध पारी विभिन्न मौलिक नेवारी खाद्य परिकार तयार गरी मनाइने यो पर्वमा विशेष प्रकारको मण्डप बनाइन्छ ।

बुद्ध, धर्म र सङ्घ मण्डललाई पूजा गरी शून्यताको ज्ञान प्राप्त गर्ने प्रक्रिया म्ह पूजा हो । यसबाट व्यक्तिमा मैत्री, करुणा, मुदिता (अरुको प्रगतिमा खुशी हुने) र उपेक्षा भाव पैदा भई सम्यक सम्बोधी मार्गमा प्रशस्त हुने जनविश्वास छ । नेवार समुदायमा सूर्योदयले समेटेको कछलाथ्व प्रतिपदाको दिन बेलुकी म्ह पूजा गर्ने परम्परा रहिआएको छ ।

व्यक्तिको शरीर, वचन र चित्तको संयोजनबाट बनेको हुन्छ तथा आफ्नो शरीर सबैभन्दा ठूलो पूजनीय हो भन्ने म्ह पूजाको सन्देश रहेको बौद्धविद्धान यज्ञमानपति बज्राचार्यको “नेपाःया प्राचीन बज्राचार्य लीलाबज्र” नामक पुस्तकमा उल्लेख छ । सो पुस्तकमा भगवती लक्ष्मीकरा (ई.७२९) ले मानव शरीरलाई विशेष महत्व दिइएको छ ।
व्यक्तिले आफ्नो मन शुद्ध गरी कुशल कार्यसम्पादन गर्न आफूलाई योग्य बनाउने तथा कुशल कार्य गरी बुद्धत्व मार्ग ग्रहणबाट मानिसभित्र रहेको दुःख सदाको लागि अन्त हुन्छ । म्ह पूजाकै दिन नेपालमा नयाँ युगको शुभारम्भ भएको दिन पनि हो । म्ह पूजाकै दिन नेपाल देशको नामबाट स्थापित नेपाल संवम्वत् नयाँ वर्ष शुरु भएको पवित्र दिन पनि हो ।

महाचीनबाट आउनुभएका मञ्जुश्रीले तालको रूपमा रहेको काठमाडौँ उपत्यकालाई बस्तीयोग्य बनाएपछि नेवारहरुको सभ्यताको शुरुआत भएको इतिहास छ । किराँत, लिच्छवी, मल्ल तथा आधुनिककालसम्म आउँदा ती समुदायले काठमाडौँ उपत्यकामा मन्दिर, सत्तल पाटी पौवा, भाषा, साहित्य, कला, जात्रा, चाड पर्वजस्ता मूर्तअमूर्त सम्पदा निर्माण गरेका थिए । यी सम्पदा नेपालको अमूल्य साँस्कृतिक धरोहरका रूपमा विश्वप्रसिद्ध छन् ।

म्ह पूजा गर्ने व्यक्तिलाई दिइने अण्डा सगुनमा अण्डाले आकाश तत्व, माछाले जल तत्व, मासुल स्थल तत्व तथा अयला (रक्सी)ले तेज तत्वको प्रतिनिधित्व हुने विश्वास गरिन्छ । म्ह पूजाका दिन नयाँ कुचो, एउटा नाङ्लो तथा पानीको घडालाई पनि देवताको प्रतीकका रूपमा मण्डपमा सजाएर राखिन्छ ।

प्रतिक्रिया