शुक्रबार, वैशाख १४, २०८१

तिन वटा विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन आह्वान

नेपालखोज २०७६ कार्तिक १५ गते ११:४७

१५ कार्तिक, काठमाडौँ । सरकारले पोखरा, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल गरी तीन वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपतिकालागि आवेदन आह्वान गरेको हो ।

यसअघि पूर्वाञ्चल, कृषि तथा वन र नेपाल संस्कृत विश्वविद्यालयका लागि आवेदन आह्वान गरिएको थियो । आवेदनका आधारमा रोस्टर तयार गर्ने र त्यसबाट योग्य व्यक्तिलाई उपकुलपतिका रूपमा सिफारिस गर्ने नयाँ अभ्यासको थालनी गर्न लागिएको हो ।

चारवटा विश्वविद्यालयका उपकुलपति छनोट समितिमा रहनुभएका राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. उषा झाले इच्छुक नहुनेलाई जबरजस्ती पठाउँदा काम नगर्ने पनि हुन सक्ने भएकाले इच्छुकहरूको रोस्टर तयार गर्न लागिएको तर्क गर्नुभयो । इमानदारीका साथ काम गर्न वैयक्तिक विवरण मागिएको बताउँदै उहाँले भन्नु भयो “इच्छा नहुनेलाई जिम्मेवारी नदिऔँ भन्ने मान्यता हो । आवेदनका आधारमा इच्छुकलाई जिम्मेवारी दिइयो भने काम गर्ने छन् । अब हाम्रो मान्छे होइन, राम्रो मान्छेलाई नै जिम्मेवारी दिइनुपर्छ । ”

दुई दिनअघि पूर्वाञ्चल, कृषि र नेसंविका लागि आवेदन माग गरेकोमा चार जनाले आवेदन दिएको शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया