बिहीबार, वैशाख १३, २०८१

विदेश पठाईदिने प्रलोभन देखाएर ठग्ने दम्पत्ती पक्राउ

नेपालखोज २०७६ कार्तिक १७ गते १७:३१

१७ कार्तिक, काठमाडौं । विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिएका छन् ।

उनका अनुसार उनीहरुले बैँकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपिलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्रलोभन देखाएर लाओस पठाइदिने भनी उनीहरुले पीडितबाट रु २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख थापाले पीडितलाई लाओस र भारत पु¥याएर अलपत्र पारी उनीहरु फरार भएका थिए । रामेछापका नविनकुमार तामाङसमेत चार जनाले गत असोज ५ गते दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई यही कात्तिक १५ गते हेटौँडाबाट पक्राउ गरेको थियो । ठगी प्रमाणित भए अधिकतम पाँच वर्ष कैद तथा विगो र जरिवानासमेत हुने व्यवस्था छ ।

प्रतिक्रिया